Headline

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको डर्टमण्डमाथि सनसनीपूर्ण जित

Published

on

पोलिस स्ट्राइकर रोबर्ट लेवान्टोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगाको डेर क्लासिकरमा बोरुसिया डर्टमण्डबिरुद्ध सशक्त पुरनरागमन गरेको छ ।

अलायन्ज अरिनामा बायर्नले निकै नै रोमाञ्चक खेलमा डर्टमण्डलाई ४–२ ले पराजित गर्दै अंक तालिकामा दुई अंकको अग्रता कायमै राख्यो । घरेलु मैदानमा बायर्न पहिलो ९ मिनेटमै दुई गोलले पछि परेको थियो ।

डर्टमण्डका लागि दुवै गोल नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्डले गरेका थिए । २० यार्डबाट गोल गर्दै हालान्डले ७४ सेकेण्डमै डर्टमण्डलाई अग्रता दिलाएका थिए । थोर्गन हजार्डले निकालेको क्रसमा नवौं मिनेटमा हालन्डले दोश्रो गोल गरेपछि बायर्न स्तब्ध बनेको थियो ।

२६ औं मिनेटमै लिरोय सानेको क्रसमा लेवान्डोस्कीले बायर्नलाई खेलमा फर्काए र ४४ औं मिनेटमा महमुद दाहुदले किँग्सले कोमनलाई लडाएपछि प्राप्त पेनाल्टीमा गोल गर्दै पहिलो हाफमै खेललाई बराबरीमा ल्याए ।

दोश्रो हाफमा हावी हुन थालेको बायर्नका लागि ८८ औं मिनेटमा लियोन गोरेज्काले तेश्रो गोल गरे भने त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई शिर्ष स्थानमा कायम राखे ।

हारपछि डर्टमण्ड छैटौं स्थानमा झरेको छ तर उसका लागि हालन्डले भने २० बर्षको उमेरमा नै कोशेढुँगा पुरा गरेका छन् । हालन्डले सिनियर प्रतियोगितामा आफ्नो १ सयौं गोल पनि पुरा गरेका छन् ।

शनिबार साँझमा भएको खेलमा फ्राइबर्गलाई ३–० ले पराजित गर्दै आरबी लाइपजिग दोश्रो स्थानमा नै कायम रहेको छ । अर्को खेलमा बायर लेभरकुसन बोरुसिया मोइनचेन्ग्ल्याडब्याचलाई पराजित गर्दै पाचौं स्थानमा उक्लन सफल भयो । तेश्रो स्थानको उल्फ्सबर्ग होफेनहाइमसँग स्तब्ध भयो भने चौथो स्थानको फ्रांकफर्ट हर्था बर्लिनसँग १–१ गोलको बराबरीमा रोकियो ।

Click to comment

Trending