Headline

एक ‘पैसा वसुल’ वाला म्याच

Published

on

अबु धाबी टि लिगबाट फर्किदै मेयर कपका लागि सोमपाल कामी, करण केसी र कुशल मल्ल जोडिएपछि निकै बलियो बनेको त्रिभुवन आर्मी क्लबबिरुद्ध ८७ रनमै ६ विकेट गुमाएको स्थितिमा नेपाल एपिएफ क्लबबाट अपेक्षा निकै कम थियो ।

प्रधानमन्त्री कपको फाइनलमा हार व्यहोरेको एपिएफ अझै सुधारिएको आर्मीबिरुद्ध त्रिवि क्रिकेट मैदानमा मेयर कपको उद्घाटन खेलमा २ सय ३६ रनको लक्ष्यका लागि जवाफी ब्याटिङ्ग गर्दै थियो । आर्मीको हातमा खेल आइसक्दा एपिएफले कसैले नसोचेको गर्यो ।

तीन महत्वपूर्ण साझेदारीपछि एपिएफ खेलमा फर्कियो र अन्तिम क्षणमा धैर्य धारण गर्दै आर्मीलाई दुई बल बाकी हुदा स्तब्ध बनायो । एपिएफका कप्तान शरद भेषावकरले खेललाई “पैसा वसुल ” गर्ने खेल भने र यो साच्चिकै त्यस्तै थियो ।

१६ रनमा चार विकेट गुमाएको स्थितिबाट शंकर राना (३३) र सुमित महर्जनले ५२ रनको साझेदारी गर्दै एपिएफलाई सम्हाल्ने प्रयास गरे । तर १९ रनको अन्तरमा एपिएफले शंकरसहित दुई विकेट गुमायो । एपिएफले ६ विकेट गुमाउदा उसले ९० रन पनि बनाएको थिएन ।

त्यसपछि सुमित र भेटेरान बसन्त रेग्मीले ७१ रनको अर्को साझेदारी गरे । सुमित ६० रन बनाएर पेभिलियन फर्के र क्रिजमा आए अमर सिँह रौटेला । छरितो खेल्ने क्रममा अमरले बसन्तसँग ६५ रन जोडे । त्यसमा रौटेलाले ३१ बलमा ३८ रनको योगदान दिए । चार छक्का प्रहार गरेका अमरले भर्खरै बिक्रम सोबलाई स्ट्रेट छक्का प्रहार गरेका थिए ।

एपिएफलाई त्यो छक्का पछि १५ बलमा जम्मा १२ रन मात्र चाहिएको थियो । तर उनले अर्को छक्का प्रहार गर्ने धुनमा सोमपाललाई मिड अफमा क्याच थमाए । अन्तिम १२ बलमा एपिएफलाई १२ रन चाहियो । करण केसी बलिङ्गमा आए । एपिएफले पहिलो पाँच बलमा ६ रन त बनायो तर बसन्त आउट भए ।

यो “एन्टी क्लाइम्याक्स” जस्तो देखियो । निकै मिहिनेत गरेका बसन्त अद्र्धशतकबाट एक रनले चुके । अन्तिम ओभरमा एपिएफलाई अझै ७ रन चाहिएको थियो तर उसँग एक विकेट मात्र बाकी थियो भने क्रिजमा नयाँ ब्याट्स्म्यान अविनाश बोहोरा थिए ।

बिक्रम र सोमपालको ओभर समाप्त भइसकेको कारण कप्तान बिनोद भण्डारीलाई स्पिनर सुशन भारीलाई बल थमाउनु बाहेक अरु कुनै बिकल्प थिएन । भारीले पहिलो बल लेन्थ बाहिर फाले, अविनाशले जान दिए । दोश्रो बल स्ट्रेट अविनाशकै लेन्थमा आयो र उनले त्यसलाई छक्का प्रहार गरिदिए ।

चौथो बलमा एक सिँगल लिनु मात्रै ओपचारिकता थियो । एपिएफका लागि प्रधानमन्त्री कपको फाइनलको हार पुरा भएको थियो ।

“यो म्याच इन्टरटेनमेन्टले भरिपूर्ण थियो । अन्तिम सम्मै गयो । यो एपिएफले गरेको अहिलेसम्मकै उत्कृष्ट कमब्याकहरुमा पर्छ होला,” शरदले भने ।

Click to comment

Trending