Headline

स्थापना भएको २३ बर्षपछि ए डिभिजनमा उक्लियो सातदोबाटो

Published

on

निकटतम प्रतिद्वन्दी खुमल्टार युथ क्लब श्री भगवती क्लबसँग पराजित हुन पुगेपछि सातदोबाटो युवा क्लब दुई खेल बाकी रहेको स्थितिमा नै आफ्नो इतिहासमा पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको शहिद स्मारक बि डिभिजन लिग खेलमा खुमल्टारले अग्रतालाई खेर फाल्दै २–१ ले पराजय व्यहोर्यो । सातदोबाटाले आफ्नो बाकी रहेका दुवै खेल हार्ने र खुमल्टारले खेल्न बाकी एक खेल जित्दै अंक बराबर गरेपनि हेड–टु–हेडमा पछि पर्ने निश्चित छ ।

सातदोबाटोको ९ खेलबाट २५ अंक छ भने खुमल्टारको १० खेलबाट २२ । ए डिभिजनमा सातदोबाटोले सरस्वती युवा क्लबको स्थान लिनेछ । सरस्वती यसै बर्ष शहिद स्मारक ए डिभिजन लिगमा पुछारमा रहदै बि डिभिजनमा घटुवा भएको थियो ।

२०५४ सालमा स्थापना भएदेखि नै डि डिभिजन क्वालिफायरबाट घरेलु फुटबल खेल्न थालेको सातदोबादो २०६६ सालदेखि बि डिभिजनमा बढुवा भएको थियो । पछिल्लो दुई सिजन शिर्ष चारमा परेर प्रथम श्रेणीमा उक्लन चुकेको सातदोबाटोले अब भने ए डिभिजनको यात्रा गर्नेछ । तर उसका लागि यो यात्रा सहज हुने भने देखिदैन ।

“ए डिभिजनमा त उक्लियौं तर अब चुनौति निकै थपिएको छ । ए डिभिनमै टिक्नको लागि हामीलाई बजेट ल्याउनुका साथै खेलाडीहरुको पनि आवश्यकता पर्ने देखिन्छ । यो सजिलो छैन,” सातदोबाटोका अध्यक्ष कपिल राना मगरले भने ।

“ए डिभिजनमै सर्भाइभ गर्ने तर्फ केन्द्रित हुदै हामी योजना ल्याइरहेका छौं । अहिले त क्लबको आयश्रोत ठूलो छैन । आयश्रोत भनेको सातदोबाटोमा रहेको क्लबको भवन र यसै सिजन बि डिभिजनका लागि हिमालय डिस्टिलरीले गरेको प्रायोजन नै हो । हामी गोदावरीमा एकेडेमी स्थापना गर्दै आफ्नै मैदानको लागि योजना बनाउदैछौं । यसलाई पुरा गर्नको लागि यतिले पर्याप्त हुदैन,” स्थापना कालदेखि नै आबद्ध रानामगरले भने ।

शनिबार खुमल्टारले सबिन केसीको गोलबाट अग्रता लिएको थियो । तर डोना थापाले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । आशिष श्रेष्ठले ६ मिनेट बाकी रहेको स्थितिमा गोल गरेपछि खुमल्टारको बढुवा हुने सपना चकनाचुर भएको थियो ।

अर्को खेलमा मिलन लिम्बुको एक मात्र गोलको मद्दतमा बोइज युनियन क्लबले टुसाल युथ क्लबलाई १–० ले हरायो । एक खेल बाकी रहदा बोइज युनियन १७ अंकसहित चौथो स्थानमा रहेको छ । टुसाल भने ९ अंक साथ रेलिगेसन जोनबाट बाहिर रहेको छ ।

Click to comment

Trending