Headline

रोमाञ्चक खेलमा आर्मीलाई एपिएफले हरायो

Published

on

प्रधानमन्त्री कप च्याम्पियन त्रिभुवन आर्मी क्लबमाथि नेपाल एपिएफ क्लबले मेयर कपको पहिलो खेलमा एक विकेटको रोमाञ्चक जित हात पारेको छ ।

पहिलो ब्याटिङ्ग गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउदै २ सय ३५ रन बनायो । ८७ रनमै ६ विकेट गुमाएको एपिएफले ब्याटिङ्गबाट उत्कृष्ट पुनरागमन गर्दै ४९ दशमलव ४ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य भेट्टायो ।

पहिलो चार विकेट १६ रनमै गुमाएको एपिएफलाई शंकर राना र सुमित महर्जनले ५२ रनको साझेदारी गर्दै सम्हालेका थिए । शंकरले ४३ बलमा ३३ रन बनाए । एपिएफले त्यसपछि शंकर र भुवनलाई गुमाउदा ६ विकेटको क्षतिमा ८७ रनको नाजुक अवस्थामा रहेको थियो ।

तर बसन्त रेग्मी र सुमितले ७१ रनको साझेदारी गर्दै एपिएफलाई खेलमा फर्काए । सुमितले ७८ बलमा ६० रनको शान्दार इनिङ्गस खेले । उनले ८ चौका प्रहार गरेका थिए । सुमितको विकेट पतनपछि अमर सिँह रौटेला र बसन्त रेग्मीले ६५ रनको साझेदारी गरेका थिए ।

उत्कृष्ट इनिङ्गस खेलेका अमरले चार छक्का र एक चौकाको मद्दतमा ३१ बलमै ३८ रन बनाए । उनी बिक्रम सोबलाई लगातार दुई छक्का हान्ने क्रममा आउट भएका थिए ।

अन्तिम दुई ओभरमा १३ रन चाहिएको अवस्थामा एपिएफले करण केसीको ओभरमा ६ रन बटुलेपनि अन्तिम बलमा बसन्तलाई गुमाएको थियो । सुशन भारीले गरेको अन्तिम ओभरको पहिलो बल डट भएपनि अविनाश बोहोराले दोश्रो बलमा छक्का प्रहार गर्दै खेल बराबरीमा ल्याए ।

तेश्रो बल डट खेलेपछि चौथो बलमा अविनाशले एक रन बटुल्दै टिमलाई जित दिलाए । बसन्तले ७९ बलमा तीन चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । आर्मीका लागि बिक्रमले तीन र करणले एक विकेट लिएका थिए ।

टप अर्डर र मध्यक्रमले मात्रै सम्हालेको आर्मीलाई एपिएफले खुलेर खेल्न दिएको थिएन ।

सोमपाल कामीलाई ओपनिङ्गमा पठाएको प्रयोग आर्मीका लागि सफल भएको थियो । सोमपालले पहिलो विकेटका लागि लोकेश बमसँग ६१ रनको साझेदारी गरेका थिए । दुई चौका र दुई छक्का प्रहार गरेका उनले ५३ बलमा २८ रन जोडे । अमर सिँह रौटेलाको बलमा आउट हुनुअघि लोकेशले ५१ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए ।

अमरले भिम सार्की (१८) लाई पनि पेभिलियन फर्काएका थिए । रोहित कुमार पौडेल र बिनोद भण्डारीले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै आर्मीलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याएका थिए ।

रोहितले ७८ बलमा ५६ रन बनाए । उनले तीन चौका प्रहार गरेका थिए । भण्डारीले ४२ बलमा ४२ रन बनाए । पहिलो २० बलमा मात्र चार रन बनाएका भण्डारीले पछि आक्रमक खेल्दै तीन छक्का र एक चौका प्रहार गरेका थिए ।

एपिएफका लागि अविनाश बोहोराले तीन विकेट लिएका थिए । उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए । अमर बाहेक भुवन कार्कीले पनि दुई विकेट लिए ।

Click to comment

Trending