Headline

भारतको फराकिलो जित, टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँगको भेट पक्का

Published

on

इङ्गल्याण्डलाई चौथो तथा अन्तिम टेस्टमा एक इनिङ्गस २५ रनले पराजित गर्दै भारतले चार म्याचको टेस्ट श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

अहमदाबादमा तेश्रो दिन पहिलो इनिङ्गसमा ३ सय ६५ रन बनाउदै १ सय ५५ रनको अग्रता लिएको भारतले इङ्गल्याण्डलाई दोश्रो इनिङ्गसमा १ सय ३५ रनमै अल आउट गर्दै फराकिलो जित हात पार्यो ।

जितसँगै भारतले जुनमा हुने वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइलमा न्युजिल्याण्डसँगको भेट पक्का गरेको छ । फाइनलको दौडबाट यसअघि नै बाहिरिसकेको इङ्गल्याण्डले जितेको खण्डमा अष्ट्रेलियाले स्थान बनाउने थियो ।

दोश्रो इनिङ्गसमा पाचौ ओभरदेखि विकेट गुमाउन थालेको इङ्गल्याण्डलाई एक पटक फेरि भारतीय स्पिनरहरुले नै दवाबमा राखेका थिए । अक्षर र रविचन्द्रन अश्विनले तीन–तीन विकेट लिएपछि इङ्गल्याण्डले मात्र ६५ रनमै पहिलो ६ विकेट गुमाएको थियो ।

ड्यान लरेन्सले सातौं विकेटका लागि बेन फोक्ससँग ४४ रनको साझेदारी गर्दै पाहुना टोलीलाई केही सम्मानजनक योगफलतर्फ धकेलेका थिए । अन्तिम ब्याट्स्म्यानको रुपमा आउट भएका लरेन्सले इङ्गल्याण्डका लागि सर्वाधिक ५० रन बनाए ।

अश्विन र अक्षरले समान पाँच विकेट लिएका थिए ।

तेश्रो दिन ७ विकेटको क्षतिमा २ सय ९४ रनबाट अघि खेल्न शुरु गरेको भारतले वाशिँगटन सुन्दरको शान्दार इनिङ्गसको मद्दतमा सबै विकेट गुमाई ३ सय ६५ रन बनायो । आठौं विकेटका लागि अक्षर पटेलसँग १ सय ६ रनको साझेदारी गरेका वाशिँगटनले नटआउट ९६ रन बनाए ।

उनले १ सय ७४ बलको सामना गर्दै १० चौका र एक छक्का प्रहार गरेका थिए । अक्षरले ९७ बलमा ४३ रन बनाए । इङ्गल्याण्डका लागि बेन स्टोक्सले चार, जेम्स एन्डरसनले तीन र ज्याक लिचले दुई विकेट लिएका थिए ।

Click to comment

Trending