Headline

एपिएपलाई पहिलो खेल जित्न आर्मीले दियो २ सय ३६ रनको लक्ष्य

Published

on

प्रधानमन्त्री कप च्याम्पियन त्रिभुवन आर्मी क्लबले मेयर कपको आफ्नो पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई २ सय ३६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको आर्मीले ५० ओभरमा अल आउट हुदै २ सय ३५ रन बनायो । टप अर्डर र मध्यक्रमले मात्रै सम्हालेको आर्मीलाई एपिएफले खुलेर खेल्न दिएको थिएन ।

सोमपाल कामीलाई ओपनिङ्गमा पठाएको प्रयोग आर्मीका लागि सफल भएको थियो । सोमपालले पहिलो विकेटका लागि लोकेश बमसँग ६१ रनको साझेदारी गरेका थिए । दुई चौका र दुई छक्का प्रहार गरेका उनले ५३ बलमा २८ रन जोडे । अमर सिँह रौटेलाको बलमा आउट हुनुअघि लोकेशले ५१ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए ।

अमरले भिम सार्की (१८) लाई पनि पेभिलियन फर्काएका थिए । रोहित कुमार पौडेल र बिनोद भण्डारीले चौथो विकेटका लागि ७१ रनको साझेदारी गर्दै आर्मीलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याएका थिए ।

रोहितले ७८ बलमा ५६ रन बनाए । उनले तीन चौका प्रहार गरेका थिए । भण्डारीले ४२ बलमा ४२ रन बनाए । पहिलो २० बलमा मात्र चार रन बनाएका भण्डारीले पछि आक्रमक खेल्दै तीन छक्का र एक चौका प्रहार गरेका थिए ।

एपिएफका लागि अविनाश बोहोराले तीन विकेट लिएका थिए । उनले सबै विकेट अन्तिम ओभरमा हात पारेका थिए । अमर बाहेक भुवन कार्कीले पनि दुई विकेट लिए ।

Click to comment

Trending