Headline

रिशब पन्तको शतकमा भारत बलियो स्थितिमा

Published

on

विकेट किपर ब्याट्सम्यान रिशब पन्तको शतक तथा अलराउण्डर वाशिंगटन सुन्दरको अर्धशतकको मद्धतमा घरेलु टोली भारतले इंग्ल्यान्ड विरुद्धको चौथों तथा अन्तिम टेस्टमा पनि आफ्नो पकड बनाउन सफल भएको छ ।

इंग्ल्यान्डलाई पहिलो पारीमा २०५ रनमा रोकेको भारतले दोश्रो दिनको खेलको समाप्तीमा ९४ ओभर खेल्दै सात विकेटको नोक्सानीमा २९४ रन बनाएको छ भने ८९ रनको अग्रता पनि लिन सफल भएको छ ।

भारतको लागि पन्तले सर्वाधिक १०१ रन बनाए । ११८ बलको सामना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरे । २३ बर्षिय पन्तको २० औं टेस्टमा यो तेश्रो शतक हो ।

कप्तान बिराट कोहली शुन्य तथा अजिंक्य रहाने २७ रनमा आउट हुँदा दबाबमा परेको भारतको लागि पन्तले १४४ बलमा ४९ रन बनाएका रोहित शर्मासँग ४१ तथा सुन्दरसँग ११३ रनको साझेदारी गर्दै पारी सम्हालेका हुन् । दिनको खेलको समाप्तीमा सुन्दर ११७ बलमा ६० तथा अक्सर पटेल ११ रनमा अविजित छन् ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक तीन विकेट हात पारे भने बेन स्टोक्स र ज्याक लिचले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नका लागि भारतलाई यो टेस्ट कम्तिमा ड्र अथवा जित हात पार्नै पर्ने हुन्छ । न्युजिल्याण्डले यस अघि नै फाइनलको स्थान सुरक्षित गरेका कारण एक टोलीको मात्र सम्भावना रहने छ ।

चार खेलको शृंखलामा भारत २-१ ले अघि रहेको छ । पहिलो टेस्टमा २२७ रनको फराकिलो जित दर्ता गर्दै उत्कृस्ट सुरुवात गरेको इंग्ल्यान्डले दोश्रो टेस्टमा ३१७ रनको लज्जास्पद हारको सामना गर्न पुग्यो । त्यस्तै तेश्रो टेस्टमा १० विकेटको हारको सामना गर्दा खेल दुई दिनमा सकिएको थियो ।

Click to comment

Trending