Headline

भारतीय बलर हाबी हुँदा इंग्ल्यान्डको खराब ब्याटिङ

Published

on

भारतीय बलरहरु हाबी हुँदै चौथों तथा अन्तिम टेस्टमा पनि इंग्ल्यान्डले खराब ब्याटिङ प्रदर्शन गरेको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ७५ दशमलब पाँच ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । आज नै आफ्नो पारी सुरु गरेको भारतले १२ ओभर खेल्दै एक विकेटको नोक्सानीमा २४ रन बनाएको छ र इंग्ल्यान्ड भन्दा १८१ रनले पछि रहेको छ ।

इंग्ल्यान्डको तर्फबाट बेन स्टोक्सले सर्वाधिक ५५ रन बनाए भने ड्यान लरेन्सले पनि ४६ तथा जोनी बैरस्टोवले २८ रनको योगदान दिए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अक्सर पटेलले सर्वाधिक चार विकेट हात पारे भने रविचन्द्रन अश्विनले तीन तथा मोहम्मद सिराजले दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

भारतका शुबमन गिल शुन्य रनमा जेम्स एन्डरसनको बलमा आउट भए भने रोहित शर्मा आठ तथा चेतेश्वर पुजारा १५ रनमा अविजित रहेका छन् ।

चार खेलको शृंखलामा भारत २-१ ले अघि रहेको छ । भारतले वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न अन्तिम टेस्टमा जित अथवा ड्र निकाल्न पर्ने हुन्छ ।

भारतले जित निकालेको खण्डमा अथवा ड्र मात्र खेले पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ भने हारको सामना गरेको खण्डमा अष्ट्रेलियाले फाइनल खेल्ने मौका प्राप्त छ । न्युजिल्याण्डले यस अघि नै फाइनलको स्थान सुरक्षित गरेका कारण एक टोलीको मात्र सम्भावना रहने छ ।

तेश्रो टेस्ट अघि सम्म इंग्ल्यान्डको पनि फाइनल खेल्ने आशा जीवितै रहे पनि तेश्रो टेस्टमा १० विकेटको लज्जास्पद हारको सामना गर्दा फाइनलको यात्रा समाप्त भएको थियो ।

पहिलो टेस्टमा २२७ रनको फराकिलो जित दर्ता गर्दै उत्कृस्ट सुरुवात गरेको इंग्ल्यान्डले दोश्रो टेस्टमा ३१७ रनको लज्जास्पद हारको सामना गर्न पुग्यो । त्यस्तै तेश्रो टेस्टमा १० विकेटको हारको सामना गर्दा खेल दुई दिनमा सकिएको थियो ।

Click to comment

Trending