Headline

केरोन पोलार्डको एकै ओभरमा ६ छक्का

Published

on

केरोन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने बिश्वका तेश्रो ब्याट्स्म्यान भएका छन् ।

कुलिजमा श्रीलंकाबिरुद्ध भएको निकै नै रोमाञ्चक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा पोलार्डले स्पिनर अकिला धनन्जयको एक ओभरको सबै बलमा छक्का प्रहार गरेका थिए । उनी भारतका युवारज सिँह र दक्षिण अफ्रिकाका हर्सेल गिब्सपछि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने मात्रै तेश्रो खेलाडी भने ।

युवराजले दक्षिण अफ्रिकामा भएको २००७ को ट्वान्टी ट्वान्टी बिश्वकपमा इङ्गल्याण्ड बलर स्टुवर्ट ब्रोडलाई ६ छक्का प्रहार गरेका थिए भने त्यही बर्ष वेष्ट इण्डिजमा भएको ५० ओभरको बिश्वकपमा गिब्सले नेदरल्याण्ड्सका डान भान बुँगालाई ६ छक्का हिर्काएका थिए ।

पोलार्डको उपलब्धि किन पनि सनसनीपूर्ण रह्यो भने धनन्जयले चौथो ओभरमा ह्याट्रिक पुरा गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए । उनले चौथो ओभरको दोश्रो, तेश्रो र चौथो एभिन लेविस (२८), क्रिस गेल र निकोलस पुरनलाई पेभिलियन फर्काएका थिए ।

श्रीलंकाले ९ विकेटको क्षतिमा १ सय ३१ रनको सामान्य योगफल खडा गरेपछि लेविस र लेन्डल सिमोन्स (२६) ले छरितो शुरुवात दिदै पहिलो विकेटका लागि ५२ रन जोडेका थिए । धनन्जयको ओभरसँगै उसको अस्थायी विकेट पतन शुरु भएको थियो ।

त्यसपछि पोलार्डले धनन्जयको उपलब्धिको खुशीयालीलाई एक ओभरमै दुखमा परिणत गरिदिए । उनले ११ बलमा ३८ रन बनाए । वेष्ट इण्डिजले पावर प्लेमा बनाएको ९८ रन पनि ट्वान्टी ट्वान्टी क्रिकेटमा नयाँ किर्तिमान हो ।

Click to comment

Trending