Headline

न्युजिल्याण्डबिरुद्धको ट्वान्टी ट्वान्टी श्रृंखलामा अष्ट्रेलियाको उत्कृष्ट पुनरागमन

Published

on

ग्लेन म्याक्सवेलको आक्रमक ब्याटिङ्ग र एस्टन एगरको घातक बलिङ्गपछि अष्ट्रेलियाले न्युजिल्याण्डबिरुद्धको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखलामा सुखद पुनरागमन गरेको छ ।

वेलिँगटनमा भएको तेश्रो ट्वान्टीमा ट्वान्टीमा अष्ट्रेलियाले घरेलु टोलीमाथि ६४ रनको फराकिलो जित हात पार्यो । न्युजिल्याण्डले पहिलो दुई खेल जितेको थियो ।

म्याक्सवेलसँगै कप्तान आरोन फिन्चले पनि अद्र्धशतक प्रहार गरेपछि पहिलो ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा चार विकेटको क्षतिमा २ सय ८ रनको बिशाल योगफल खडा गर्यो । जवाफमा एगरले मिडल अर्डर र लोवर अर्डर ध्वस्त पारेपछि न्युजिल्याण्ड १७ दशमलव एक ओभरमा १ सय ४४ रनमै समेटियो ।

चार ओभरमा ३० रन खर्चिएका एगरले ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाका लागि सबैभन्दा सफल बलिङ्ग प्रदर्शन गरेका हुन् । डेभोन कन्वेको महत्वपूर्ण विकेट लिएका बायाँ हाते स्पिनर एगरबिरुद्ध ठूलो शट खेल्ने प्रयासमै न्युजिल्याण्डका ब्याट्स्म्यानहरुले आफ्नो विकेट गुमाएका थिए ।

न्युजिल्याण्डका लागि ओपनर मार्टिन गुप्टिलले २८ बलमा ४३ रन प्रहार गरे । उनको इनिङ्गसमा तीन छक्का र दुई चौका समावेश थियो । कन्वेले २७ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए । अष्ट्रेलियाका लागि राइली मेरडिथले पनि दुई विकेट लिएका थिए ।

यसअघि ओपनर म्याथ्यु वेडलाई दोश्रो ओभरमा नै गुमाएको अष्ट्रेलियालाई फिञ्चले सम्हालेका थिए । यसअघिका खेलहरुमा राम्रो प्रदर्शन गर्न नसकेपनि निकै आलोचना व्यहोरेका फिन्चले ४४ बलमा ६९ रन जोड्दै जोश फिलिपेसँग ८३ रनको साझेदारी गरेका थिए ।

फिलिपेले २७ बलमा ४३ रन बनाए । उनको इनिङ्गसमा तीन चौका र एक छक्का सामेल थियो । फिलिपेको विकेट पतनपछि म्याक्सवेलले पूर्ण रुपमा खेललाई नियन्त्रणमा लिएका थिए । उनले जेम्स निसमलाई एकै ओभरमा पाँच चौका र एक छक्का सहित २६ रन प्रहार गरेका थिए ।

म्याक्सवेलले ३१ बलमा नटआउट ७० रन बनाए । फिन्चको इनिङ्गसमा ८ चौका र दुई छक्का सामेल थियो । न्युजिल्याण्डका लागि इश सोधीले दुई विकेट लिए ।

Click to comment

Trending