Headline

ज्लाटन इब्राहिमोभिच र लेब्रोन जेम्सको वाक युद्ध

Published

on

स्विडिस फुटबल लेजेण्ड ज्लाटन इब्राहिमोभिच र लस एन्जलस लेकर्सका एनबिए सुपरस्टार लेब्रोन जेम्सबीचको वाक युद्ध अझै शान्त भएको छैन ।

रँगभेदबिरुद्ध आवाज उठाउनुका साथै राजनीतिक टिप्पणीहरु पनि गर्ने गरेका जेम्सलाई शुक्रबार इब्राहिमोभिचले खेलमा मात्रै लाग्दा राम्रो हुने बताएका थिए । जेम्सले शनिबार यसको जवाफ फर्काउदै आफू कसैको समर्थन नरहेकाहरुको लडाईमा लागि रहने बताए ।

यस क्रममा जेम्सले २०१८ मा प्रकाशित एक रिपोर्टमा इब्राहिमोभिचले रँगभेदको सामना गर्नु परेको बिषयमा बोलेको पनि उल्लेख गरेका थिए । तर मँगलवार रोयटर्सलाई एक अन्तर्वार्ता दिदै इब्राहिमोभिचले फेरि पनि खेलाडी खेलाडी नै रहि रहनु पर्ने कुरामा आफू अडिग रहेको बताए ।

“रँगभेद र राजनीति दुई फरक कुरा हुन् । एथ्लिटहरुले संसारलाई एक गराउछन् तर राजनीतिले बिभाजित गर्छ । तपाई कहाँबाट आउनु भयो, यसले मतलब राख्दैन र हामी एकता ल्याउन हर सम्भव काम गरिरहेका हुन्छौं । मेरो सन्देश ? एथ्लिट, एथ्लिट हुनु पर्छ र राजनीतिज्ञ, राजनीतिज्ञ,” इब्राहिमोभिचले भने ।

इब्राहिमोभिचले दिएको अभिव्यक्ति जेम्सको लागि भने नौलो होइन । सन् २०१८ मा फक्स न्युजका कमेन्टेटर लौरा इन्ग्राहमले जेम्सलाई “सट अप एण्ड ड्रिबल” (चुप लागेर ड्रिब्लिङ्ग गर) भनेका थिए । जेम्सले पछि यही टिप्पणीलाई सो टाइममा प्रशारित आफ्नो डकुमेन्टरीको लागि प्रयोग गर्दै नमिठो ढँगले सार्वजनिक रुपमै कटाक्ष गरेका थिए ।

“सट अप एण्ड ड्रिबल” क्षणले जेम्सलाई भने अझै सशक्त अभियन्ताको रुपमा स्थापित गर्दै गयो । उनले आहायोमा आई प्रोमिज स्कुल  खोले र त्यसमा निरन्तर सहयोग गर्दै आइरहेका छन् । उनले २०१९ मा स्कुलमा जिम खोल्नका लागि १० लाख डलर पनि दिएका थिए । डिसेम्बरमा जेम्सले ओहायोकै शहर एक्रोनमा सामुदायिक केन्द्र निर्माण गर्ने घोषणा गरे ।

२०२० को अमेरिकी निर्वाचन अघि उनले प्रकृयागत रुपमै अश्वेत नागरिक भोटरमाथि हुने दमनबिरुद्ध लड्न “मोर द्यान अ भोट” नाम गरेको संस्था पनि स्थापित गरे । उक्त संस्थामा प्रशस्त खेलाडीहरु आबद्ध रहेका छन् ।

Click to comment

Trending