Headline

प्रिमियर लिगको उपाधि दौडलाई सामान्य प्रकृयामा परिणत गर्दै सिटी

Published

on

लगातार २८ खेलमा अपराजित रहेको क्लब किर्तिमानको बराबरी गर्ने क्रममा म्यानचेस्टर सिटीले मङ्गलवार उल्भ्सलाई ४–१ ले पराजित गर्दै इङ्गलिस प्रिमियर लिगमा १५ अंकको अग्रता बनाएको छ ।

गत सिजनको दुवै लिग खेलमा हारको सामना गर्नु परेको टोलीबिरुद्ध पेप ग्वार्डियोलाले एतिहादमा आफ्नो टोलीमा परिवर्तन ल्याए र यो सिजन चार उपाधि जित्ने मिसनमा कायमै रहे ।

कोनोर कोडीले लियान्डर डेन्डोन्करको आत्मघाती गोलको क्षतिपुर्ति गर्दै उल्भ्सलाई खेलमा फर्काए पनि ग्याब्रियल जिजसले दुई र रियाद माह्रेजले एक गोल गरेपछि सिटीले तीन अंक सुनिश्चित गरेको थियो ।

सिटीले सबै प्रतियोगिता गरेर लगातार २८ खेल अपराजित रहने किर्तिमान डिसेम्बर २०१७ मा कायम गरेको थियो भने यो सिजन उ चार बर्षमा तेश्रो प्रिमियर लिग उपाधितर्फ अग्रसर बन्न सफल भएको छ ।

सबै प्रतियोगिता गरेर लगातार २१ खेल जितेको सिटीको प्रिमियर लिगमा भने लगातार १५ औं जित हो । सिटी पछिल्लो १९ प्रिमियर लिग खेलमा एक मिनेट पनि खेलमा पछि परेको छैन । यस क्रममा उसले आर्सनलको १९९८–९९ सिजनको किर्तिमानमा बराबरी गरेको हो ।

आफ्नो टिमलाई सशक्त प्रदर्शनको लागि सराहना गरेपनि ग्वार्डियोलोको अबको फोकस म्यानचेस्ट युनाइटेड बिरुद्धको अबको खेल रहेको बताए । लिगमा सिटीको निकटतम शहरी प्रतिद्वन्दी युनाइेटड दोश्रो स्थानमा रहेको छ ।

ग्याब्रियल जिजस फर्ममा फर्कदा पनि सिटीलाई निकै फाइदाजनक भएको छ

“म्यानचेस्टर युनाइेटड । अब हामीले सोच्ने भनेको त्यही टोली मात्रै हो । अहिले च्याम्पियन लिभरपुल हो र उनीहरुसँग यसको ताज छ । हामी लिभरपुललाई पछि पार्ने बलियो पोजिसनमा छौं । तर अझै ३३ अंकको लागि खेल्न बाकी छ । अब सबै ध्यान युनाइटेडबिरुद्धको खेलमा केन्द्रित रहनेछ,” ग्वार्डियोलाले खेलपछि भने ।

शुरुवातदेखि नै दबदबा

पहिलो मिनेटदेखि नै सिटीले खेललाई नियन्त्रणमा लिदा उल्भ्सलाई जम्न समेत समय लागेको थियो । सिटीले असिमिति दवाब बनाएको मिहिनेतले १५ औं मिनेटमा प्रतिफल पायो । माह्रेजले आफ्नै डिफेन्स लाइनबाट लिएर गएको बललाई अल्जेरियन मिडफिल्डर रोद्रिले कलेक्ट गर्दै पोस्टको मुखमा पास निकाले ।

रहिम स्टर्लिङ्गले गोलका लागि जाँदा डेनडन्करले आफ्नै पोस्टको दिशा दिन पुगे । त्यसपछि आयमेरिक लपोर्टे, बर्नार्डो सिल्भा, केभिन डि ब्रुन र माह्रेज गोल गर्ने मौकामा चुकेका थिए । सिल्भा, डि ब्रुन र माह्रेजको प्रहारलाई उल्भ्स गोलकिपर रुई पट्रिसियोले उत्कृष्ट ढँगले बचाउ गरेका थिए ।

ठ्याक्कै एक घण्टामा उल्भ्सले बराबरी गोल गर्यो । जाओ माउटिन्होको फ्रि–किकमा हेडरमार्फत गोल गरेपछि उ खेलमा फर्किएको थियो । त्यसपछि अझै दवाब बनाएको सिटीले १० मिनेटमै अग्रता फर्कायो ।

कायल वाकरले निकालेको क्रसलाई क्लियर गर्न नसक्दा जिजसले नजिकैबाट गोल गरेका थिए । ९० औं मिनेटमा माह्रेजले गोल गर्दै सिटीको जित सुनिश्चित गरे भने खेलको अन्तिम किकमा जिजसले आफ्नो दोश्रो गोल गरे ।

युरोपको पाँच शिर्ष लिगमा सिटीको यो तेश्रो उत्कृष्ट बिजयी यात्रा हो । बायर्न म्युनिखको नाममा २०२० सिजनमा लगातार २३ खेलमा जित हात पारेको किर्तिमान रहेको छ भने रियल म्याड्रिडले २०१४ मा लगातार २२ खेल जितेको थियो ।

अचम्म त के छ भने सिटीले यो सिजन निकै सुस्त शुरुवात गर्दा धेरै फुटबल पण्डितहरुले बर्षौपछि प्रिमियर लिगको उपाधि दौड खुला रहने भविष्यवाणी गरेका थिए । तर ग्वार्डियोलाको टोलीले त्यो दौडलाई सामान्य प्रकृया बनाउन थालेको जस्तो देखिएको छ ।

Click to comment

Trending