Headline

६ सयौं लिग खेलको कोशेढुँगामा रोनाल्डोको गोल

Published

on

क्रिष्चियानो रोनाल्डोले आफ्नो करिअरको ६ सयौं लिग खेलमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी आ मा स्पेजियामाथि ३–० को सहज जित निकालेको छ ।

पोर्चुगल, इङ्गल्याण्ड, स्पेन र अहिले इटालिमा लिग खेलिरहेका रोनाल्डोको यो सिजन सिरी आ मा २० औं गोल पनि हो । रोनाल्डोले लगातार १२ लिग सिजन २० अथवा त्यो भन्दा बढी गोल गर्दै आएका छन् ।

यो सिजन २१ खेल खेलेका रोनाल्डो लिग शिर्ष गोलकर्ताहरुको सुचीमा इन्टर मिलानका रोमेलु लुकाकुभन्दा दुई गोलले अगाडी रहेका छन् । एटलान्टाका लुईस मुरियल, लाजियोका सिरो इमोबिले र एसि मिलानका ज्लाटन इब्राहिमोभिचको समान १४ गोल छ भने अर्का इन्टर खेलाडी लौटारो मार्टिनेजको १३ गोल छ ।

मङ्गलवार सबै गोल दोश्रो हाफमा हुदा रोनाल्डो निर्धारित समय समाप्त हुन एक मिनेट बाकी रहेको अवस्थामा युभेन्टसको काउन्टर अट्याकलाई राम्रो फिनिसिङ्ग दिएका थिए । त्यसपछि स्पेजियाका आन्देू गालाबिनोभले अन्तिम समयमा पेनाल्टीमा गोल गर्ने मौका गुमाएका थिए ।

टुरिनमा फेडेरिको बर्नार्डेस्चीको असिस्टमा अल्भारो मोरोटाले गोल गर्दै युभेन्टलाई ६२ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि फेडेरिको चिएसाले दोश्रो गोल गरेका थिए ।

जितपछि लगातार ९ पटकको च्याम्पियन युभेन्टसले पहिलो स्थानको इन्टर मिलानसँगको दुरी ७ अंकमा छोट्याएको छ । २४ खेलको समाप्तिमा इन्टरको ५६ अंक छ भने दोश्रो स्थानको एसि मिलानको ५२ र युभेन्टसको ४९ अंक छ । एटलान्टा ४६ र एएस रोमा ४४ अंक सहित चौथो र पाचौं स्थानमा रहेका छन् ।

Click to comment

Trending