Headline

बेलको पुनरागमनमा स्पर्सको जित, युनाइेटड र चेल्सीको बराबरी

Published

on

ग्यारेथ बेलले पुरानो दिन फर्काएपछि टोटेन्ह्याम हट्स्परले इङ्गलिस प्रिमियर लिगमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो भने म्यानचेस्टर युनाइटेड र चेल्सी बराबरीमा सन्तुष्ट देखिए ।

बेल २०१३ मा रियल म्याड्रिडका लागि टोटेन्ह्याम छोड्दा जुन स्टार खेलाडी बेल थिए त्यही लयमा फर्कदा व्यवस्थापक होजे माउरिन्होले उनी अहिले पहिले भन्दा राम्रो भएको दाबी गर्न सम्म पुगेका थिए । टोटेन्ह्यामका लागि बेलले ६८ सेकेण्डमै गोल गर्दै अग्रता दिलाएका थिए भने दोश्रो हाफको पनि शुरुवातमै आफ्नो दोश्रो गोल थपे ।

२०१९ यता म्याड्रिडबाट लोनमा आएपछि बेलले पहिलो पटक एकै खेलमा दुई गोल गरेका हुन् । “यो दुई गोलको कुरा मात्रै होइन । उनको शारिरिक प्रदर्शनको कुरा हो । उनी यस्तो फिट यसअघि कहिल्यै थिएनन्,” माउरिन्होले भने । स्पर्सका लागि ह्यारी केन र लुकास मोराले पनि एक–एक गोल गरेका थिए ।

चेल्सीले भने थोमस टुचेलको आगमनपछि आफ्नो पहिचानलाई एउटा आकार दिन बिस्तारै सफल भएको छ । दवाब बनाएर खेल्ने जर्मन शैलिलाई स्ट्यामफोर्ड ब्रिजमा ल्याएका टुचेल ९ खेलमा अपराजित रहेका छन् । तर आइतबार युनाइटेडसँगको गोलरहित बराबरीपछि उसले वेष्ट ह्यामलाई पाचौं स्थानमा धकेल्दै आफू चौथोमा जाने मौका भने गुमाएको छ ।

युनाइटेडले भने शिर्ष स्थानको म्यानचेस्टर सिटीलाई अग्रता सुदृढ बनाउने मौका दिएको छ । सिटीले १२ अंकको अग्रता लिएको छ ।

अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले पराजित गर्यो । तेश्रो स्थानको लेस्टर आइतबारको परिणामपछि १३ अंकले पछि परेको छ भने आर्सनल १० औं स्थानमा उक्लिएको छ । लिभरपुलले भने पुछारको सेफिल्ड युनाइटेडलाई २–० ले हरायो । ४३ अंक रहेको लिभरपुल सिटीभन्दा १९ अंकले पछाडी पर्दै छैटौं स्थानमा छ ।

Click to comment

Trending