Headline

युरोपियन राउण्ड–अपः बार्सा शिर्ष भन्दा दुई अंक पछाडी, एमबाप्पेको दुई गोल

Published

on

लियोनल मेस्सी र औस्माने डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले राम्रो लयमा रहेको सेभियालाई २–० ले पराजित गर्दै शिर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको दुरी दुई अंकमा छोट्याएको छ ।

बार्साको दुवै गोलमा मेस्सीको प्रत्यक्ष संलग्नता रहेको थियो । २९ औं मिनेटमा डेम्बेलेको गोलमा मेस्सीको असिस्ट रहेको थियो । लगत्तै सर्जिनो डेस्टको प्रहार पोस्टमा लागेर फर्किएको थियो । बार्सिलोना डिफेन्डर क्लेमेन्स लिँगलेटको हेडर र युसेफ एन लेस्रीको गोललाई अफसाइड दिइएको थियो ।

८५ औं मिनेटमा मेस्सीको प्रहार सेभियाका गोलकिपर बानोले बचाएपनि ठोक्कएर आएको बलमा सहजै गोल गरेका थिए । मेस्सीले सेभियाबिरुद्ध गरेको यो ३८ औं गोल हो । मेस्सीले बार्साका लागि लगातार ८ गोल गरेका छन् । दुई खेल बढी खेलेको बार्साको ५३ अंक छ भने एक खेल कम खेलेको रियलको ५२ र शिर्ष स्थानको एट्लेटिकोको ५५ अंक छ ।

बायर्नको कोलोनबिरुद्ध फराकिलो जित

डिफेन्डिङ्ग च्याम्पियन बायर्न म्युनिखले बुन्डेसलिगामा कोलोनलाई ५–१ को बिशाल अन्तरले पराजित गर्दै दुई अंकको अग्रता लिएको छ । समान २३ खेलपछि बायर्नको ५२ र आरबी लाइपजिगको ५० अंक छ । उल्फ्सबर्गको ४५ र फ्रांकफर्टको ४२ अंक छ ।

एरिक म्याक्सिम चुपो–मोटिङ्गले १८ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसपछि रोबर्ट लेवान्डोस्की र सर्जि नाब्रीले २–२ गोल गरेका थिए । एलिस स्खीरीले कोलोनका लागि एक गोल फर्काएका थिए । अर्को खेलमा लाइपजिगले बोरुसिया मोइन्चेनग्ल्याडब्याचलाई ३–२ ले पराजित गर्यो ।

पाचौं स्थानमा रहेको डर्टमण्डले आर्मिनिया बिलेफिल्डलाई ३–० ले हरायो भने उल्फ्सबर्गले हर्था बर्लिनलाई २–० ले हरायो । यस्तै स्टुटगार्टले साल्कालाई ५–१ ले पराजित गर्यो ।

उच्च लयमा एमबाप्पे

किलियन एमबाप्पेले आफ्नो फर्मलाई कायमै राखेपछि पेरिस सेन्ट जर्माइनले डिजोनलाई ४–० ले पराजित गरेको छ । क्लबको लागि १ सय १३ औं गोल गर्ने क्रममा एमबाप्पेले ३२ र ५१ औ मिनेटमा गोल गरेका थिए ।

मोइजे किनले पिएसजीलाई अग्रता दिलाएका थिए भने ८२ औं मिनेटमा ड्यानिलोले चौथो गोल गरेका थिए । जितका बावजुद पिएसजी ५७ अंक साथ दोश्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको लिलको ५८ अंक छ ।

Click to comment

Trending