Headline

लिभरपुललाई अर्को बज्रपात, यसपटक कप्तान हेन्डरसन बाहिरिए

Published

on

एकपछि अर्को प्रमुख खेलाडी गुमाउदै आएको इङ्गलिस प्रिमियर लिग डिफेन्डिङ्ग च्याम्पियन लिभरपुललाई फेरि अर्को बज्रपात परेको छ । लिभरपुलले तिघ्राको चोटका कारण यसपटक कप्तान जोडर्न हेन्डरसनलाई गुमाएको छ ।

एभर्टनबिरुद्धको मर्सिसाइड डर्बी दौराना ग्रोइन इन्जुरी बोकेका हेन्डरसन कम्तिमा पनि १० हप्ता मैदान बाहिर रहने भएका छन् । भर्जिल भान डाइक, जोल माटिप, जो गोमेज र फाबिन्होलाई गुमाइसकेपछि लिभरपुलले प्लेयिङ्ग ११ बाट अर्को खेलाडी गुमाएको हो ।

प्रमुख खेलाडीहरु मैदान बाहिर रहदा लिभरपुल यो सिजन खस्कदै छैटौं स्थानमा पुगिसकेको छ । शिर्ष स्थानको म्यानचेस्टर सिटीसँग १९ अंकको दुरीमा रहेपछि लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यसअघि नै आफू यो सिजन उपाधि रक्षा गर्नबाट चुकिसकेको स्विकारेका थिए ।

क्लोपले तीन प्रमुख सेन्टर ब्याक नभएपछि मिडफिल्डर हेन्डरसनलाई रक्षापंक्तिमा प्रयोग गर्दै आइरहेका थिए । उनले प्रिमियर लिगमा चेल्सीबिरुद्धको खेल सहित लिभरपुलका लागि पाँच खेल गुमाउने भएका छन् । यस्तै च्याम्पियन्स लिग अन्तिम १६ को आरबी लाइपजिगबिरुद्धको दोश्रो खेलमा पनि हेन्डरसन हुने छैनन् ।

यस्तै उनले बिश्वकप क्वालिफायर अन्तर्गत इङ्गल्याण्डले मार्चमा खेल्ने सान मारिनो, अल्बानिया र पोल्याण्डबिरुद्धको खेलहरु पनि गुमाउने छन् । मार्च २४ देखि ३१ सम्म फुटबलमा अन्तर्राष्ट्रिय बे्रक हुनेछ ।

Click to comment

Trending