अन्तर्राष्ट्रिय

अष्ट्रेलिया माथि न्युजिल्याण्डको रोमान्चक जित

Published

on

घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा चार रनको रोमान्चक जित दर्ता गराएको छ । यस जितसँगै न्युजिल्याण्डले पाँच खेलको शृंखलामा २-० को अग्रता पनि लिन सफल भएको छ ।

जितका लागि २२० रनको लक्ष्य लिएर ब्याटिङमा आएको अष्ट्रेलियाले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा २१५ रन मात्र बनाउन सक्यो ।

१३ ओभरमा ११३ रनको अवस्थामा छ विकेट गुमाएर लज्जास्पद हार तर्फ लम्केको अष्ट्रेलियाको लागि मार्कस स्टोइनिश र ड्यानियल स्याम्सले ४० बलमा ९२ रन जोड्दै जित तर्फ मोड्न सफल भए । तर अन्तिम ओभरमा जितका लागि आवस्यक रहेको अवस्थामा स्याम्स र स्टोइनिश दुबै आउट हुँदा अष्ट्रेलियाले चार रनको झिनो हारको सामना गर्न पुग्यो ।

अष्ट्रेलियाको तर्फबाट सर्वाधिक रन बनाएका स्टोइनिशले ३७ बलको सामना गर्दै सात चौका र पाँच छक्काको मद्धतमा ७८ रन बनाए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका जोश फिलिप्पेले पनि ३२ बलमा ४५ रनको पारी खेले । त्यस्तै आक्रमक पारी खेलेका स्याम्सले १५ बलको सामना गर्दै दुई चौका र चार छक्काको मद्धतमा ४१ रन बनाए ।

अष्ट्रेलियालाई रोक्ने क्रममा मिचेल स्यान्टनरले सर्वाधिक चार विकेट लिए भने जेम्स निशमले पनि एक ओभरमा १० रन खर्चदै दुई विकेट आफ्नो नाममा लेखाउन सफल भए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा २१९ रनको विशाल योगफल तयार पार्यो ।

उसका लागि ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ९७ रन बनाए । ट्वान्टी ट्वान्टीमा आफ्नो तेश्रो शतक बनाउन चुकेका गुप्टिलले ५० बलको सामना गर्दै छ चौका र आठ छक्का प्रहार गरे । तीन रन बनाएका अर्का ओपनर टिम सेइफर्टलाई गुमाएर खराब सुरुवात गरेको न्युजिल्याण्डको लागि गुप्टिलले तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान केन विलियमसनसँग मिलेर दोश्रो विकेटका लागि १३१ रन जोड्दै न्युजिल्याण्डको पारी सम्हालेका थिए ।

विलियमसनले ३५ बलको सामना गर्दै दुई चौका र तीन छक्काको मद्धतमा ५३ रन बनाए भने चौथों नम्बरमा ब्याटिङ गर्न आएका जेम्स निशमले पनि अविजित रहँदै १६ बलमा छ छक्का र एक चौकाको मद्धतमा तुफानी ४५ रनको पारी खेले ।

अष्ट्रेलियाका केन रिचर्डसनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चिए पनि सर्वाधिक तीन विकेट हात पारे ।

Click to comment

Trending