Headline

मेन्डीले निर्णायक गोल गरेपछि रियल म्याड्रिडको संघर्षपूर्ण जित

Published

on

फर्लान्ड मेन्डीले अन्तिम समयमा गोल गरेपछि रियल म्याड्रिडले च्याम्पियन्स लिग अन्तिम १६ मा एटलान्टाबिरुद्ध झिनो अग्रता लिएको छ ।

बराबरीतर्फ गइरहेको प्रि क्वार्टर फाइनल म्याचमा मेन्डीले निर्धारित समय सकिन भन्दा चार मिनेट अगाडी गोल गरेपछि रियलले अवे खेलमा १–० को जित हात पार्यो । खेल अवधिभर एटलान्टाको सँगठित डिफेन्सले रियललाई हतोत्साहीत बनाइसकेको थियो ।

१७ मिनेटपछि नै रेमो फ्रुलरले रेड कार्ड पाएपछि एटलान्टा १० जनामा सिमित भएको थियो । एक खेलाडी कम भएपछि रक्षापंक्तिमै केन्द्रित रहेको एटलान्टाले एक शट पनि फ्रेममा प्रहार गर्न सकेको थिएन ।

कप्तान सर्जियो रामोस, करिम बेन्जेमा, एडिन हजार्ड र ड्यानी कार्भाहाल चोटका कारण अनुपस्थित रहेपछि रियलले खेलमा निकै संघर्ष गर्नु परेको थियो । रियलले खेलमा राम्रो अवसर सृजना गर्न असफल भइरहदा मेन्डीले २५ यार्डबाट प्रहार गरेको बल घुम्दै पोस्टको दिशा लिएपछि महत्वपूर्ण अग्रता लिन सफल भएको थियो ।

मेन्डीले रियलका लागि खेलिएको २० च्याम्पियन्स लिग खेलमा पहिलो पटक गोल गरेका हुन् ।

एटलान्टालाई अब भने मार्च १६ मा हुने दोश्रो लेगमा रियललाई उसकै घरमा हराउनु पर्ने दवाब हुनेछ । रियलले जिनेदिन जिदान प्रशिक्षक रहदा इटालीमा भएका सबै पाँच खेल जित्न सफल भएको हो ।

Click to comment

Trending