अन्तर्राष्ट्रिय

रोहितको अर्धशतकमा सम्हालिंदै भारत

Published

on

ओपनर रोहित शर्माले अर्धशतक प्रहार गरे पछि इंग्ल्यान्ड विरुद्धको तेश्रो टेस्टको पहिलो पारीमा घरेलु टोली भारतले सम्हालिएको ब्याटिङ प्रदर्शन गरेको छ ।

अक्सर पटेलले घातक बलिङ गर्दै छ विकेट हात पारे पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४८ दशमलब चार ओभर खेल्दै आफ्नो पहिलो पारीमा सबै विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो भने आज नै आफ्नो पहिलो पारी सुरु गरेको भारतले पहिलो दिनको खेलको समाप्तीमा ३३ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा ९९ रन बनाएको छ इंग्ल्यान्ड भन्दा मात्र १३ रनले पछि रहेको छ ।

दिनको खेलको समाप्तीमा ओपनर रोहित शर्मा ५७ रनमा तथा अजिंक्य रहाने एक रनमा अविजित छ । अन्तिम ओभरको दोश्रो बलमा आउट भएका कप्तान बिराट कोहलीले २७ रन बनाए भने अर्का ओपनर शुबमन गिल ११ रनमा आउट हुँदा चेतेश्वर पुजाराले रनको खाता पनि खोल्न सकेनन् ।

इंग्ल्यान्डको तर्फबाट ओपनर ज्याक क्रलीले सर्वाधिक ५३ रन बनाए भने कप्तान जो रुटले १७, बेन फोक्स १२ तथा जोफ्रा आर्चर ११ ले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

इंग्ल्यान्डका अन्य ब्याट्सम्यानहरुमा ओपनर डोम सिब्ली र जोनी बैरस्टो दुबै रनको खाता पनि नखोली पेभेलियन फर्किए भने बेन स्टोक्स छ, ओली पोप एक, ज्यान लिच तीन, स्टुवार्ट ब्रोड तीन रनमा आउट हुन पुगे ।

इंग्ल्यान्डको पारी ध्वस्त पार्ने क्रममा पटेलले २१ दशमलब चार ओभर बलिङ गर्दै छ मेडन ओभर सहित ३८ रन खर्चिएर छ विकेट हात पारे । पटेलको दोश्रो टेस्टमा यो दोश्रो पाँच विकेट हो । चेन्नाईमा भएको दोश्रो टेस्टका क्रममा टेस्टमा डेब्यु गरेका उनले दोश्रो पारीमा ६० रन खर्चिएर पाँच विकेट हात पारेका थिए ।

पटेल बाहेक रविचन्द्रन अश्विनले तीन तथा इशान्त शर्माले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

चार खेलको टेस्ट शृंखला १-१ को अवस्थामा रहेको छ । पहिलो टेस्ट इंग्ल्यान्डले २२७ रनको फराकिलो अन्तरले जितेको थियो भने दोश्रो टेस्टमा भारतले ३१७ रनको विशाल जित दर्ता गराउन सफल भएको थियो ।

Click to comment

Trending