Headline

बायर्नको लाजियोबिरुद्ध सशक्त प्रदर्शन

Published

on

बायर्न म्युनिखले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा इटालियन टोली लाजियोमाथि ४–१ को फराकिलो जित हात पारेको छ ।

१७ बर्षिय जमाल मुसिआला च्याम्पियन्स लिगमा गोल गर्ने इतिहासकै कान्छो खेलाडी बन्दा रोबर्ट लेवान्डोस्की र लिरोय सानेले पनि जर्मन महराथीका लागि १–१ गोल गरेका थिए । लेवान्डोस्कीले नवौं मिनेटमै पाहुना टोलीलाई अग्रता दिलाउदा उनले च्याम्पियन्स लिग इतिहासमा आफ्नो ७२ औं गोल गरे ।

यस क्रममा उनले स्पेनका राउललाई प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा तेश्रो स्थानमा धकेलेका थिए । बक्सबाहिर बाट मुसिआलाले गोल गरेपछि बायर्नले २४ मिनेटमै २–० को अग्रता लिएको थियो । मुसिआला बायर्नका लागि पनि च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका हुन् ।

सानेले ४२ औं मिनेटमै तेश्रो गोल गर्दा बायर्नले पहिलो हाफमै लाजियोको हातबाट खेल खोसिसकेको थियो । दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमा नै सानेले सृजना गरेको दवाबमा फ्रान्सेस्को एसर्बीले आत्मघाती गोल गर्न पुगेका थिए ।

घरेलु खेलमा लाजियोका लागि ४९ औं मिनेटमा योआकिन कोरिआले एक गोल फर्काएपनि त्यसपछिको समय गोल अन्तर घटाउन सकेन ।

क्लब बिश्वकप जित्दै ९ महिनाको अन्तरमा ६ उपाधि जितेको बायर्न जर्मनी फर्कदा बुन्डेसलिगामा आफ्नो दुई खेलमा अंक गुमाएपनि उसले मङ्गलवारको जितबाट उत्कृष्ट पुनरागमन गरेको हो ।

Click to comment

Trending