Headline

जिरुडको दर्शनीय गोलमा चेल्सीले एट्लेटिकोलाई हरायो

Published

on

ओलिभर जिरुडले दर्शनीय गोल गरेपछि चेल्सीले च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत एट्लेटिको म्याड्रिडबिरुद्धको आफ्नो पहिलो लेगमा १–० को जित हात पारेको छ ।

अवे खेलमा जिरुडले ओभरहेड बाइसाइकल किक मार्फत गरेको गोलले चेल्सीलाई महत्वपूर्ण जितमात्र दिलाएन उसको नयाँ व्यवस्थापक थोमस टुचेलको अपराजित यात्रालाई पनि कायमै राखेको छ । फ्रांक लाम्पार्डको स्थानमा लिएका टुचेल लगातार ८ खेलमा अपराजित रहेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण स्पेनबाट रोमानियामा सारिएको एट्लेटिकोको होम खेलमा उसले एक शट पनि फ्रेममा प्रहार गर्न सकेको थिएन । एट्लेटिकोका प्रमुख हतियार लुइस सुवारेजलाई चेल्सीले खेल अवधिभर शान्त राख्न सफल भएको थियो ।

६८ औं मिनेटमा जिरुडको एथ्लेटिसिजम र टेक्निक मिश्रित प्रहारले एट्लेटिको गोलकिपर यान ओब्लाकलाई हेरेको हेर्यै बनाएको थियो । समुह चरणमा सेभियाबिरुद्ध सबै चार गोल गरेका जिरुडले यो सिजन च्याम्पियन्स लिगमा ६ गोल गरिसकेका छन् ।

उनले फ्रेञ्च टोली रेनेसबिरुद्ध पनि अन्तिम मिनेटमा बिजयी गोल गरेका थिए । टुचेलले ३४ बर्षिय जिरुडको सराहना गरे । “उनलाई हामीले सधै हेर्ने हो भने तपाईलाई अचम्म नलाग्न सक्छ । उनी पूर्ण रुपमा फिट छन्, जिउ राम्रो आकारमा छ र उनको शारिरिक तन्तरुस्तता उच्च स्तरको छ । उनी २०–२४ बर्षको केटा जसरी प्रशिक्षण गर्छन्,” टुचेलले भने ।

दर्शनीय भन्दा पनि छरितो खेल पस्कदै आइरहेको चेल्सीको यो टुचेल आएपछि सबैभन्दा उत्कृष्ट प्रदर्शनको रुपमा लिन सकिन्छ । ला लिगामा निकै उच्च लय कायम गर्दै शिर्ष स्थानमा रहेको एट्लेटिकोबिरुद्ध चेल्सीलाई खेलको अण्डरडग्सको रुपमा हेरिएको थियो ।

तर टुचेलको टोलीले उत्कृष्ट प्रदर्शन गर्दा एट्लेटिकोको केही चलेन । उसले २०१९ मार्चमा युभेन्टसबिरुद्धको खेलपछि पहिलो पटक च्याम्पियन्स लिगमा शट अन टार्गेट राख्नबाट चुकेको थियो । जिरुड भने चेल्सीका लागि च्याम्पियन्स लिगको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी पनि बन्न पुगे ।

Click to comment

Trending