Headline

बि डिभिजन: मध्यपुरलाई हराउदै नयाँ बस्ती तेस्रो स्थानमा

Published

on

कोरोना भाईरसका कारण लामो समय रोकिएको बि डिभिजन मङ्गलबारबाट सुरु भएको छ । छैँठौ चरणको पहिलो खेलमा आज नयाँ बस्ती युवा क्लबले मध्यपुर युथ एसोसिएसनलाई २-१ ले पराजित गरेको छ ।

नयाँ बस्तीका लागि सचु गुरुङ र अभय धिमालले गोल गरेका थिए । यस्तै मध्यपुरका लागि भने भुपाल सिंह गुरुङले पेनाल्टी मार्फत एक गोल फर्काए ।

सातदोबाटो स्थीत एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मध्यपुरलाई पराजित गर्दा खेलको आठौँ मिनेटमा नयाँ बस्तीका लागि सचु गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको नयाँ बस्तीले दोस्रो हाफमा भने बराबरी गोल खाएको थियो ।

मध्यपुरका कप्तान रोजिन प्रजापतीलाई पेनाल्टी एरियामा लडाए पछी पाएको पेनाल्टीलाई भुपाल सिंह गुरुङले गोल गरे । ६७ औँ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुराए पनि त्यसको दस मिनेट पनि नबित्दै नयाँ बस्तीले अग्रता लियो ।

७८ औँ मिनेटमा नयाँ बस्तीका लागि अभय धिमालको सशक्त प्रहार गोल भएको थियो । यस्तै नयाँ बस्तीले लगतार आक्रमण गरे पनि तेस्रो गोल भने गर्न सकेन ।

जितसँगै नयाँ बस्ती ११ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको मध्यपुर युथ एसोसिएसन भने १ अंक सहित सातौँ स्थानमा रहेको छ ।

Click to comment

Trending