Headline

प्रशिक्षक नियुक्त भएको तीन दिनमै भासको राजीनामा

Published

on

श्रीलंकाको वेष्ट इण्डिज भ्रमणको लागि बलिङ्ग प्रशिक्षक नियुक्त भएको तीन दिन पछि नै लेजेण्डरी तिब्र गतिका पुर्व बलर चामिण्डा भासले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

श्रीलंका क्रिकेटले भासलाई गत शुक्रबार मात्र बलिङ्ग प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । तर सोमबार श्रीलंकन टोली क्यारेबियनका लागि उड्नुभन्दा केही घण्टा अगाडी मात्र उनले मार्च २६, २०२१ देखि प्रभावकारी हुने गरि पदबाट राजीनामा दिएका हुन् ।

“सारा बिश्वले सामना गरिरहेको अहिलेको आर्थिक वातावरणमा आफ्नो नितान्त आर्थिक फाइदाको बारेमा मात्र सोच्दै एक्कासी र गैरजिम्मेवरी तरिकाले भासले राजिनामा दिनु दुखद कुरा हो,” श्रीलंका क्रिकेटले एक बिज्ञप्तिमा भनेको छ ।

बिज्ञप्तिका अनुसार भासले डिमान्ड गरे अनुसारको भत्ता दिन श्रीलंका क्रिकेट राजी नभएपछि उनले राजीनामा दिएका हुन् । श्रीलंका क्रिकेटले करारमा रहेपनि भासको अनुभव, बिज्ञता र योग्यतालाई मध्येनजर गर्दै नियमित रुपमा दिइनु पर्ने भत्ता भन्दा बढी नै दिइएको पनि बताएको छ ।

श्रीलंकाको हाई पर्फमेन्स सेन्टरको फास्ट बलिङ्ग प्रशिक्षक रहेका भासले राष्ट्रिय टोली तथा युवा खेलाडीहरुलाई प्रशिक्षण दिंदै आएका थिए । सन् २०१९ को अन्त्यमा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भास श्रीलंका अण्डर–२३ टोलीका मुख्य प्रशिक्षक भएर पनि काम गरेका थिए ।

४७ बर्षिय भासले श्रीलंकाको लागि १११ टेस्टमा ३५५ तथा ३२२ एकदिवसीय खेलमा ४०० विकेट आफ्नो नाममा लेखाएका थिए । श्रीलंकाले सन् १९६६ मा विश्वकपको उपाधि जित्दाका सदस्य भासको नाममा अहिले पनि एकदिवसीयमा उत्कृस्ट बलिङ गर्ने किर्तिमान रहेको छ ।

उनले सन् २००१ मा जिम्बाब्वे विरुद्धको खेलमा आठ ओभर बलिङ गर्दै तीन मेडन ओभर सहित १९ रन खर्चिएर आठ विकेट हात पारेका थिए ।

Click to comment

Trending