Headline

‘बिग थ्रि’ बाहिर हेर्दै जोकोभिचः कोर्ट र सेरेनाको किर्तिमानमा नजर

Published

on

किर्तिमानी नवौं पटक अष्ट्रेलियन ओपन जितेर रोजर फेडेरर र राफेल नाडालको ग्राण्ड स्ल्याम किर्तिमान नजिक पुगेका सर्बियन टेनिस स्टार नोभाक जाकोभिचले अब आफ्नो आखा महिला टेनिसको किर्तिमानमा आएर अडिएको छ ।

आइतबर रुसी चौथो बरियताका ड्यानिल मेदभेदेभलाई पराजित गर्दै जोकोभिच स्विस लेजेण्ड फेडेरर र स्पेनिस स्टार नाडालको २० ग्राण्ड स्ल्याम उपाधिको किर्तिमानबाट मात्रै दुई कदम टाढा रहे । तर उनी सन्तुष्ट भने छैनन् ।

जोकोभिचको लक्ष्य ठूलो छः उनी टेनिस इतिहासमै कठिन देखिएको अमेरिकन सेरेना विलियम्स र मार्गरेट कोर्टको कोशेढुँगालाई उछिन्न चाहन्छ ।

बिश्व टेनिसमा विलियम्सले २३ र कोर्टले २४ ग्राण्ड स्ल्याम जितेका छन् । कोर्टको किर्तिमानको बराबरी गर्ने पछिल्लो केही बर्षदेखिको प्रयासमा सेरेना निरन्तर चुकिरहेकी छिन् । उनी अष्ट्रेलियन ओपनको सेमिफाइनलमा पनि अब महिला टेनिसमा ठूलो नामको रुपमा हेरिएकी जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् ।

“शायद अब रोजर र राफाको किर्तिमान नजिक पुग्ने र सेरेना र मार्गरेटको पनि,” यो सिजन उनको लक्ष्य बारे आइतबार अष्ट्रेलियन ओपन जितेपछि जोकोभिचले दिएको यो प्रतिकृयालाई निकै ‘बोल्ड स्टेटमेन्ट’ को रुपमा लिइएको छ ।

“सबैको आफ्नै यात्रा र इतिहास बनाउने आफ्नै तरिका हुन्छ । उनीहरुले इतिहास बनाइसकेका छन् । जबसम्म मैले सन्यासको घोषणा गर्दिन तबसम्म मेरो ध्यान र सारा शक्ति मेजर ट्रफि (ग्राण्ड स्ल्याम) जित्ने तर्फ नै खर्च हुनेछ । एकदम धेरै मेजर ट्रफि,” जोकोभिचले भने ।

मार्च ८ मा बिश्व नम्बर एकको स्थानमा ३ सय १० हप्तासम्म रहने फेडेररको किर्तिमान तोड्ने पक्का गरेका ३३ बर्षिय जोकोभिचले अब आफु बरियताका लागि भन्दा पनि छोटो तालिका बनाएर टेनिस खेल्दै ग्राण्ड स्ल्याममा मात्रै केन्द्रित रहने पनि बताए ।

टेनिसका तीन शुरवीर

तेश्रो चरणमा माँसपेसी तन्किनुका साथै खेलाडीहरुको लागि क्वोरेन्टिनमा राम्रो सुविधाको माग गर्दा मिडियामा आलोचित बनेका जोकोभिचका लागि अष्ट्रेलियन उपाधि जित्न सजिलो थिएन । “म मानव हु र मेरो पनि भावनाहरु हुन्छन् । मलाई निकै चित्त दुखेको थियो,” आफु आलोचित हुनु परेको बिषयमा उनले भने ।

लगातार २० खेलको बिजयी श्रृंखलापछि अष्ट्रेलियन ओपनको फाइनल पुगेका २५ बर्षिय मेदभेदेभमाथि जोकोभिचको ७–५, ६–२, ६–२ को सहज जित टेनिसको बिग थ्रिलाई परास्त गर्ने युवा खेलाडीहरुको आशामा पनि तुषारापात थियो ।

“टेनिसका तीन शुरवीर,” जोकोभिचले मुक्सकाउदै भने । “रोजर र राफाले मलाई प्रेरणा दिएका हुन् । जबसम्म उनीहरु हुन्छन्, म पनि हुनेछु । जसले बढी खेल्छ र बढी जित्छ किसिमको रेसमा हामी छौं ।”

“यो सबै क्षेत्रमा हामीबीचको प्रतिस्पर्धा हो । शायद यसै कारणले हामी यहाँ छौं । हामी एक अर्कालाई ड्राइभ गर्छौ र प्रोत्साहन पनि । सँगै एक अर्कालाई एउटा लिमिटसम्म धेकेलिरहेको हुन्छौं ।”

जोकोभिचका प्रशिक्षक गोरान इभानिसेभिचले टेनिसका बिग थ्रिले राम्रो भन्दा पनि राम्रो टेनिस बाहिर ल्याएको र मार्गरेट कोर्टको २४ ग्राण्ड स्ल्यामको किर्तिमान क्षितिजमा रहेको बताए । “मलाई थाहा छैन अन्त्य कहाँ छ । उनीहरुले मार्गरेट र सेरेनालाई ओभरटेक पनि गर्न सक्छन् अथवा सक्दैनन् पनि,” इभानिसेभिचले भने ।

“तर उनीहरुले कोर्टमा जे गरिरहेका छन् त्यो अभुतपुर्व छ । उनीहरुले ठूला खेलहरुमा दिने गरेको प्रदर्शन अर्कै स्तरको छ ।”

मेदभेदेभले ‘किँग अफ मेलबोर्न’ उपमा दिएका जोकोभिचले भने बिग थ्रि पछिको आउने पुस्तालाई भने स्पष्ट चुनौति दिएका छन् । “रोजर, राफा र म यहाँ हुनु पछाडी एउटा कारण छ । हामी उनीहरुलाई केही पनि दिन चाहदैनौं र उनीहरुलाई ग्राण्ड स्ल्याम दिन पनि चाहदैनौं,” उनले भने ।

“यो निकै स्पष्ट कुरा हो । यो सन्देश तपाइहरुले चाहे दिनुस अथवा नदिनुस तर हामी भने यो कोर्टमा गरेर देखाउनेछौं ।”

Click to comment

Trending