Headline

अष्ट्रेलियन ओपनका राजा जोकोभिचलाई अर्को उपाधि

Published

on

२००८ देखि डेब्यु गरे यता देखिको आफ्नो दबदबालाई कायम राख्दै सर्बियन स्टार नोभाक जोकोभिचले नवौं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।

मेलबोर्न पार्कमा आइतबार भएको फाइनलमा जोकोभिचले रुसका ड्यानिल मेदभेदेभलाई निकै सशक्त प्रदर्शन गर्दै ७–५, ६–२, ६–२ को सोझो सेटमा हराए । करिअरको १८ औं ग्राण्ड स्ल्याम जितेका जोकोभिच अब स्विस लेजेण्ड रोज फेडेरर र राफेल नाडालभन्दा मात्र दुई ग्राण्ड स्ल्यामले पछाडी छन् ।

अहिलेसम्म मेलबोर्न पार्कमा एउटा फाइनल पनि नहारेका ३३ बर्षिय जोकोभिचले लगातार तेश्रो पटक मेदभेदेभलाई हराएका हुन् । तेश्रो बरियताका मेदभेदेभले दुवै ग्राण्ड स्ल्याम फाइनल हारेका छन् ।

उपाधि जित्दै जोकोभिचले रड लेभर अरिनालाई भनेः “म तपाईलाई हरेक बर्ष धेरै भन्दा धेरै मायाँ गर्नेछु र हाम्रो यो लभ अफेयर चलिरहनेछ ।”

२०१९ को युएस ओपन फाइनलमा नाडालसँग पराजित भएपछि मेदभेदेभले जोकोभिचलाई टक्कर दिदै करिअरको पहिलो ग्राण्ड स्ल्याम जित्ने अपेक्षा गरिएको थियो । तर लगातार २० खेलमा अपराजित रहदै अष्ट्रेलियन ओपनको फाइनलसम्मको यात्रा तय गरेका उनी जोकोभिचको निरन्तर दवाबको सामु टिक्न सकेनन् ।

मेदभेदेभको तेश्रो सेट खराब बडी ल्याङ्गवेज, र्याकेट फ्याक्ने र आफ्नै टिममाथि रिस पोख्नेमै समाप्त भयो भने ठिक बिपरित जोकोभिच भने आत्मबिश्वासी र सुदृढ देखिएका थिए । एक घण्टा ५३ मिनेट लामो खेललाई उनले ब्याकह्याण्ड ओभरहेड भलि प्रहार गर्दै आफ्नो पक्षमा पारेका थिए ।

Click to comment

Trending