Headline

सिटीको प्रिमियर लिगमा १० अंकको स्पष्ट अग्रता

Published

on

सबै प्रतियोगिता गरेर लगातार १७ औं जित हात पार्ने क्रममा म्यानचेस्टर सिटीले इङ्गलिस प्रिमियर लिगमा १० अंकको स्पष्ट अग्रता बनाएको छ ।

बुधबार भएको खेलमा सिटीले एभर्टनलाई ३–१ ले पराजित गर्यो भने अब १४ म्याच बाकी रहेको स्थितिमा उसले फराकिलो अग्रता लिइसकेको छ । २४ खेलपछि सिटीको ५६ अंक रहेको छ भने म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीको समान ४६ । चेल्सी र वेष्ट ह्यामको समान ४२ अंक छ भने छैटों स्थानमा रहेको डिफेन्डिङ्ग च्याम्पियन लिभरपुलको ४० ।

एभर्टन व्यवस्थापक कार्लो एन्सलोट्टीले सिटीलाई हराउन झण्डै असम्भव रहेको प्रतिक्रिया दिए । “उनीहरुसँग खेल्न निकै गाह्रो छ, हराउन झण्डै असम्भव । सिटी अहिलेको उत्कृष्ट टिम हो । उसँग क्वालिटी छ, पावर र बिश्वास पनि । उनीहरुसँग प्रतिस्पर्धा गर्न नै कठिन छ,” एन्सलोट्टीले भने ।

सिटीको जितहरुमा यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका फिल फोडेनले एक पटक फेरि गोल गर्दै ३२ औं मिनेटमा अग्रता दिलाएका थिए । पाँच मिनेटपछि नै एभर्टनले बराबरी गोल गर्यो । लुकस डिनेको सशक्त प्रहार पोस्टमा लागेर रिबाउण्ड हुँदा आएका बल रिचार्लिसनलाई लागेर गोल भएको थियो ।

रियाद माह्रेजले १८ यार्डबाट बललाई कर्ल गर्दै सुन्दर गोल गरेपछि सिटीले ६३ औं मिनेटमा पुन अग्रता लिएको थियो भने ७७ औं मिनेटमा त्यही दुरीबाट बर्नार्डो सिल्भाले जोर्डन पिकफोर्डलाई बिट गर्दै सहज जित दिलाएका थिए ।

सिटी कुनै पनि क्यलेण्डर बर्षको शुरुवाती १० खेल जित्ने पहिलो टोली पनि बनेको छ । लिगमा उसले लगातार १२ औं खेल जितेको हो । सिटी व्यवस्थापक पेप ग्वार्डियोला भने अहिले नै उत्साहित हुन चाहदैनन् ।

“मलाई लाग्दैन हामीले अंक तालिकाको बारेमा ध्यान दिइरहेका छौं । हार्मी फेब्रुवरीको मध्यमा छौं र अझै ४२ अंकको लागि खेल्न बाकी छ,” उनले भने ।

एक खेल अझै पनि हातमा रहेको अवस्थामा एभर्टन ३७ अंक सहित सातौं स्थानमा छ । अर्को खेलमा बर्नली र फुलह्यामले १–१ गोलको बराबरी खेलेका थिए । रेलिगेसन जोनमा रहेको फुलह्यामको १९ अंक छ भने उ पछाडी वेष्ट ब्रोम (१९) र सेफिल्ड युनाइटेड (११) रहेका छन् ।

Click to comment

Trending