Headline

आईपिएलको मिनी अक्सन आज । के होला सन्दिपको भविष्य ?

Published

on

बिहिबार १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को मिनी अक्सन भारतको चेन्नईमा आयोजना हुँदैछ । उक्त अक्सनमा विश्वका धेरै खेलाडी लगायत नेपालका सन्दिप लामिछाने पनि सामेल भएका कारण सिँगो नेपाली क्रिकेट जगतको ध्यान त्यसतर्फ मोडिनेछ ।

२०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्स (त्यस समयको दिल्ली डेयरडेभिल्स) ले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा आफ्नो टोलीमा आबद्ध गर्दा उनी आईपिएल लगायत विश्वको फ्रान्चाइज लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएका थिए ।

त्यसपछि सन्दिपले अष्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग तथा अफगानिस्तान प्रिमियर लिग जस्ता सबै लिग खेल्न भ्याइसकेका छन् ।

सन्दिपले सबै लिग खेल्दै राम्रो प्रदर्शन गरे पनि पछिल्ला तीन संस्करणको आईपीएलमा मात्र ९ खेल खेल्ने मौका पाएका थिए । उनले ९ खेलमा १३ विकेट लिएका थिए । तर दुखको कुरा के भन्दा सन्दिपले युएईमा सम्पन्न सन् २०२० को संस्करणमा एक खेल पनि खेल्ने अवसर पाएनन् ।

यस पटकको अक्सनका लागि नेपाली टोलीका तिब्र गतिका बलरहरु सोमपाल कामी, करण केसी र अविनाश बोहरा, युवा अलराउण्डर कुशल मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर, नेपाली राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारीले पनि आफ्नो नाम दर्ता गराए पनि सन्दिप बाहेक अन्य पहिलो चरणको छनोटबाट नै बाहिरी सकेका छन् ।

सन्दिपले आफ्नो बेस प्राइस (आधार मुल्य) ४० लाख भारु राखेका छन् । यदि सन्दिप माथि एक भन्दा बढी टोलीले बोली लगाएमा उनी अझै धेरै रकममा अनुबन्ध हुनेछन् ।

तर सन्दिपको लागि आईपिएलमा स्थान बनाउन सहज भने हुने छैन । यस अघि एक हजार ९७ जनाको आवेदन परेकोमा मिनी अक्सनका लागि २ सय ९२ खेलाडीले मात्र स्थान बनाएका छन् । २ सय ९२ मध्येबाट बढीमा ६२ खेलाडी माथि अक्सन हुनेछ जसमा २२ जना विदेशी खेलाडीहरु रहने छन् । सन्दिपले आगामी संस्करणको आईपिएल खेल्नका लागि सोहि २२ भित्रमा पर्न पर्ने हुन्छ ।

यस अघि सबै टोलीले खेलाडी छाँट काँट गरेका कारण उनीहरुसँग बाँकि रकम र अनुबन्ध गर्न पाउने खेलाडीको संख्याले ठुलो भूमिका खेल्ने छ । बलिउड सुन्दरी प्रिती जिन्टाको टोली पन्जाब किंग्ससँग खर्च गर्नका लागि सबैभन्दा धेरै रकम छ भने उसले लिन पाउने खेलाडीको संख्या पनि धेरै छ ।

पन्जाबले ५३ दशमलब २० करोड खर्च गर्न पाउने छ भने पाँच जना सम्म विदेशी खेलाडी किन्न सक्ने छ ।

बिराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ दशमलब ९० करोड चार जना खेलाडीमा खर्च गर्नका लागि बाँकी छ भने राजस्थान रोयल्ससँग तीन जना विदेशी खेलाडीका लागि ३४ दशमलब ८५ करोड रहेको छ ।

मुम्बईले चार तथा सन्दिपको पुरानो टोली दिल्लीले क्रमश चार तथा तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

Click to comment

Trending