Headline

पुर्व दक्षिण अफ्रिकी कप्तानको टेस्ट क्रिकेटबाट सन्यास

Published

on

पुर्व दक्षिण अफ्रिकी कप्तान फाफ दु प्लेसिले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो देशका लागि ६९ टेस्ट खेलेका दु प्लेसि आफू नयाँ अध्यायको लागि तैयार रहेको भन्दै लामो संरचनाको क्रिकेटबाट सन्यास लिएका हुन् ।

निकट भविष्यमै दक्षिण अफ्रिकाको कुनै पनि टेस्ट श्रृंखला तय नरहेको हुदा उनी आफ्नो ध्यान र उर्जा पूर्ण रुपमा ट्वान्टी ट्वान्टी क्रिकेटमा खर्चने छन् । २०२१ र २०२२ मा लगातार दुई बर्ष ट्वान्टी ट्वान्टी बिश्वकप हुन गइरहेका छन् ।

“पछिल्लो केही समय अनिश्चित रहेपनि त्यसले मलाई स्पष्ट मार्ग भने देखाएको छ । मेरो मन स्पष्ट छ र म अब नयाँ अध्यायको लागि तैयार छु । आफ्नो देशको लागि खेल्नु मेरो लागि ठूलो सम्मानको कुरा थियो तर अब भने टेस्ट क्रिकेटलाई छोड्ने समय आइसकेको छ,” इन्स्टाग्राममा गरिएको पोस्टमा उनले लेखेका छन् ।

“कसैले मलाई १५ बर्ष अघि तैले दक्षिण अफ्रिकाको लागि ६९ टेस्ट खेल्दै टिमको कप्तानी पनि गर्नेछस भने भए शायद मैले पत्याउने थिएन,” उनले थपे ।

३६ बर्षिय दु प्लेसिले २०१२–१३ को अष्ट्रेलियाबिरुद्धको श्रृंखला दौरान एडिलेडमा खेल्दै टेस्टमा डेब्यु गरेका थिए । १ सय १० र ७८ रन बनाएपछि उनी म्यान अफ द म्याच हुदै टेस्ट ड्र गराउन प्रमुख भुमिका खेलेका थिए ।

उनले ४० को औषतमा १० शतक र २१ अद्र्धशतक सहित ४ हजार १ सय ६३ रन बनाएका छन् । एबि डिभिलियर्सको स्थानमा उनी सन् २०१६ मा टेस्ट कप्तान नियुक्त भएका थिए । २०२० फेब्रुवरीमा घरेलु भुमिमा इङ्गल्याण्डबिरुद्धको चार म्याचको श्रृंखला ३–१ ले गुमाएपछि उनले कप्तानी पद त्यागेका थिए ।

कप्तानको रुपमा उनको नाममा १८ जित र १५ हार रह्यो । १ सय ४३ एकदिवसीय र ५० ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका उनी लिमिटेड ओभरका लागि भने राष्ट्रिय टोलीका लागि उपलब्ध भने रहने छन् ।

अब आउने दुई बर्ष ट्वान्टी ट्वान्टी बिश्वकप हुन गइरहेका छन् । यही कारणले म यो संरचनामा केन्द्रित हुन चाहन्छु र सकेसम्म बढी भन्दा बढी बिश्वभर नै खेल्नेछु, उनले भने ।

Click to comment

Trending