Headline

एमबाप्पेले मेस्सीलाई छायाँमा पारेपछि बार्सिलोनाको अर्को बिर्सनलायक प्रदर्शन

Published

on

किलियन एमबाप्पेले लियोनल मेस्सीलाई क्याम्प नाउमै छायाँमा पार्दै ह्याट्रिक पुरा गरेपछि पेरिस सेन्ट जर्माइनले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई लज्जास्पद हार चखाएको छ ।

मेस्सीले २७ औं मिनेटमै पेनाल्टीमार्फत गोल गर्दा गत सिजनको उपबिजेता पिएसजी अवे मैदानमा एक गोलले पछि परेको थियो । बार्साले खेललाई नियन्त्रणमा गर्ने अपेक्षा गरिएपनि फ्रान्सका बिश्वकप बिजेता एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै बिश्व फुटबलका सर्वकालीन महान खेलाडी मानिएका मेस्सीलाई छायाँमा पारे ।

गोल खाएको पाँच मिनेटपछि नै एमबाप्पेले क्लेमेन्ट लेँगलेटलाई छक्याउदै पिएसजीलाई खेलमा फर्काएका थिए । ६५ औं मिनेटमा १० यार्डबाट गोल गर्दै उनले खेललाई पिएसजीतर्फ मोडेका थिए । पाँच मिनेटपछि एभर्टनबाट लोनमा आएका इन–फर्म मोइजे किनले हेडरमार्फत अर्को गोल गरेपछि खेल पूर्ण रुपमा पिएसजीकै नियन्त्रणमै रह्यो ।

बार्सा अर्को गोलका लागि संघर्ष गर्दै गर्दा एमबाप्पेले काउन्टर अट्याकमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । दोश्रो लेग मार्च २० मा पेरिसमा हुनेछ र त्यो समयसम्म पिएसजी आफ्ना अर्का स्टार स्ट्राइकर नेमार पनि तिघ्राको चोटबाट फर्किने आशा गर्नेछ ।

यसअघिको ९ नकआउट खेलहरुमा मात्र एक गोल गरेका एमबाप्पेले मङ्गलवार आफ्नो भाग्यलाई भने पूर्ण रुपमा काया पलट गरेका थिए । फाउस्टिनो एस्प्रिला र आन्द्रे सेभेचेन्कोपछि पुर्व मोनाको फर्वार्ड एमबाप्पे च्याम्पियन्स लिगमा बार्साबिरुद्ध ह्याट्रिक गर्ने मात्र तेश्रो खेलाडी भएका छन् ।

युरोपियन प्रतिस्पर्धामा बार्सिलोनालाई उसकै घरमा हराउने पिएसजी मात्र दोश्रो फ्रेञ्च टोली हो । यसअघि बार्सा १९८४–८५ को कप विनर्स कपमा मेट्जसँग ४–१ ले हारेको थियो ।

खेलमा मेस्सीको लागि भने अर्को कोशेढुँगा पुरा भएको थियो । उनले लगातार १३ सिजन बार्सिलानोका लागि सबै प्रतियोगिता गरेर २० वा त्यो भन्दा बढी गोल गरेका छन् । यो सिजन उनको ला लिगामा १५ गोल रहेको छ ।

Click to comment

Trending