Headline

६ गोलको सनसनीमा बायर्न बराबरीमा रोकियो

Published

on

६ गोलको सनसनीपूर्ण खेलमा बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको टोली आर्मिनिया बिलेफेल्डसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा बायर्न ३७ मिनेटमै दुई गोलले पछि परेको थियो । मैदानमा निरन्तर भारी हिमपात हुँदा खेल्न असहज परिस्थितिमा बायर्नले मध्यान्तरपछि केही सुधकारिएको प्रदर्शन गरेको थियो । मिचेल भ्लाप र एमोल पिपरले गोल गर्दै आर्मिनियालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए ।

दोश्रो हाफ शुरु भएको तीन मिनेटपछि नै रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काए । तर त्यसको एक मिनेटमै क्रिष्चियन जिबरले आर्मिनियाको लागि तेश्रो गोल गरे ।

५७ औं मिनेटमा कोरेन्टिन टोलिसोले दुरीलाई एक गोलमा झारेका थिए । अल्फोन्सो डेभिजले ७० औं मिनेटमा भलिमार्फत आकर्षक गोल गरेपछि बायर्नको हार टरेको थियो । बायर्नको शिर्ष स्थानमा पाँच अंकको स्पष्ट अग्रता रहेको छ ।

२१ खेलपछि दोश्रो स्थानमा रहेको आरबी लाइपजिगको ४४ अंक छ । जारी बुन्डेसलिगामा दुई खेलमा मात्र पराजय भोगेको बायर्नको यो चौथो बराबरी हो । एन्टर्याच्ट फ्रांकफर्ट र उल्फ्सबर्गको समान ३९ अंक रहेको छ । पाचौं स्थानको बायर लेभरकुसनको ३६ अंक छ ।

Click to comment

Trending