Headline

लुकाकुको ३ सय गोलको कोशेढुँगामा इन्टर शिर्ष स्थानमा

Published

on

रोमेलु लुकाकुले दुई गोल गर्दै करिअरमा ३ सयौं गोलको कोशेढुँगा पुरा गरेपछि इन्टर मिलान लाजियोमाथि ३–१ को आकर्षक जित निकाल्दै इटालियन सिरी आ को शिर्ष स्थानमा उक्लिएको छ ।

इन्टरको शहरी प्रतिद्वन्दी एसि मिलान शनिबार स्पेजियासँग २–० ले स्तब्ध भएको भोलीपल्टै लुकाकुले क्लबको लागि निकै उत्कृष्ट प्रदर्शन दिए । समान २२ खेल खेलिसक्दा इन्टरको ५० अंक छ भने एसि मिलानको ४९ । एएस रोमा ४३ अंक साथ तेश्रो स्थानमा रहदा एक खेल कम खेलेको डिफेन्डिङ्ग च्याम्पियन युभेन्टसको ४२ अंक भएको छ ।

२०१० पछि पहिलो पटक सिरी आ को उपाधिको नजिक रहेको इन्टरलाई अब अर्को आइतबार मिलान डर्बीको व्यग्रताका साथ पर्खाइ रहनेछ । हामीलाई यही लुकाकु चाहिएको छ । उनको जस्तो दृढ संकल्प र प्यासन टिमका अन्य खेलाडीहरुमा पनि हुन आवश्यक छ, इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने ।

सान सिरोमा वेज्ली होएटले लौटारो मार्टिनेजलाई फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै लुकाकुले २२ औं मिनेटमा इन्टरलाई अग्रता दिलाए । मध्यान्तरको ठ्याक्कै अघि आएको लुज बलमा आकर्षक भलि प्रहार गर्दै उनले दोश्रो गोल गरे ।

लुकाकु अब क्रिष्चियानो रोनाल्डोसँगै सिरी आ को शिर्ष गोलकर्ता बनेका छन् । दुवैको १६ गोल भएको छ । ६१ औं मिनेटमा गोञ्जालो एस्कालेन्टेको फ्रि किक डिफ्लेक्ट हुदै गोलमा परिणत भएपछि लाजियोले अग्रता घटाएको थियो ।

तीन मिनेटपछि नै लुकाकुले तेश्रो गोलका लागि मार्टिनेजलाई असिस्ट गर्दा इन्टरको शिर्ष स्थान पक्का भएको थियो ।

रोमाले आइतबार नै भएको खेलमा युडिनेजीलाई ३–० ले हराउदै तेश्रो स्थानमा फर्किएको थियो । रोमाको जितमा जोर्डन भेरेटाउटले दुई र पेद्रो रोद्रिगेजले एक गोल गरेका थिए । अर्को खेलमा एट्लान्टा काग्लियारीलाई १–० ले हराउदै माथिल्लो चार स्थानको दाबेदारीमा कायमै रह्यो ।

समान ४० अंक रहदा गोल अन्तरको आधारमा नापोली पाचौं, एट्लान्टा छैटौं र लाजियो सातौं स्थानमा रहेको छ । आठौं स्थानमा रहेको सासुलोले क्रोटोनेलाई २–१ ले पराजित गर्यो भने साम्पडोरियाले पनि फियोरेन्टिनालाई त्यही गोल अन्तरले हरायो ।

Click to comment

Trending