Headline

वेष्ट इण्डिजबिरुद्धको पहिलो टेस्टमा बङ्गलादेशको बलियो पकड

Published

on

बङ्गलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चटोग्राममा जारी टेस्टको अन्तिम दिन वेष्ट इण्डिजलाई २ सय ८५ रनको आवश्यकता रहनेछ भने उसको हातमा मात्र ७ विकेट रहेको छ ।

चौथो दिन ४७ रनमा तीन विकेटको क्षतिबाट खेल्न शुरु गरेको घरेलु टोली बङ्गलादेशले आफ्नो दोश्रो इनिङ्गस ८ विकेटको क्षतिमा २ सय २३ रन बनाउदै घोषणा गर्यो । पहिलो इनिङ्गसमा ४ सय ३० रन बनाउदै वेष्ट इण्डिजलाई २ सय ५९ रनमै रोकेको बङ्गलादेशले १ सय ७१ रनको अग्रता लिएको थियो ।

दोश्रो इनिङ्गसमा २ सय २३ रन बनाएपछि उसले वेष्ट इण्डिजलाई ३ सय ९५ रनको लक्ष्य प्रस्तुत गर्यो । वेष्ट इण्डिजले चौथो दिनको खेल समाप्त हुदासम्म तीन विकेटको क्षतिमा १ सय १० रन बनाएको छ र अझै जितबाट २ सय ८५ रन टाढा रहेको छ ।

अन्तिम दिनको खेल शुरु हुदा एनक्रुसमा बोनर १५ र काइल मायर्स ३७ रनबाट खेल्न थाल्ने छन् । तर अन्तिम दिनको पिचमा मात्र ७ विकेट रहेको अवस्थामा झण्डै ३ सय रन बनाउन वेष्ट इण्डिजलाई फलामको चिउरा चपाउनु सरह रहनेछ । वेष्ट इण्डिज पुरै ९० ओभर टिक्दै बराबरीका लागि खेल्नेछ भने बङ्गलादेश स्पिनरहरु मार्फत जितका लागि जानेछ ।

बङ्गलादेशका लागि तीन वटै विकेट अफ स्पिनर मेहेदी हसन मिराजले लिएका थिए । मिराजले पहिलो इनिङ्गसमा पनि वेष्ट इण्डिजको चार विकेट लिएका थिए ।

यसअघि बङ्गलादेशका लागि मात्र तीन खेलाडीले दोहोरो अंकमा रन बनाउदा कप्तान मोमिनुल हकले शतक प्रहार गरेका थिए । १ सय १५ रन बनाएका उनले लिटन दाससँग पाचौं विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए । दासले ६९ रन बनाए ।

वेष्ट इण्डिजका लागि रहकिम कर्नवाल र जोमेल वारिकनले २–२ विकेट लिएका थिए ।

Click to comment

Trending