Headline

‘जिदान अन फायर’ – पत्रकारहरुलाई आफ्नै मुख अगाडी छोडेर जान भन्न चुनौति

Published

on

२०२० को अन्त्यसम्ममा स्पेनिस ला लिगाको नवौं स्थानमा रहेको बार्सिलोनाले ओभरटेक गर्दै तेश्रो स्थानमा धकेलिदिएपछि रियल म्याड्रिड दवाबमा छ । यो सँगै क्लबका प्रशिक्षक जिनेदिन जिदान पनि ।

गत सिजन औसत देखिएको रियललाई उत्कृष्ट तरिकाले सम्हाल्दै ला लिगाको उपाधि नै दिलाएका जिदान किन पनि दवाबमा छन् भने अहिले शिर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग उनको टोली १० अंकले पछाडी छ । एक खेल अझै पनि हातमै रहेको एट्लेटिकोले अर्को खेल जित्ने हो भने उसको अग्रता १३ अंकको हुनेछ ।

जिदानको लागि हार त धेरै परको कुरा हो अब रियलका समर्थकहरुले बराबरी पनि सहने नसक्ने अवस्थामा पुगिसकेका छन् । उत्तिकै असह्य म्याड्रिडका पत्रकारहरुलाई पनि हुनेछ ।

स्पेनमा रियल र बार्सिलोनाबाट प्रकाशित तथा प्रशारित हुने स्थानीय मिडियाको क्लबप्रतिको झुकाव निकै नै हुने गरेको छ । बिशेषगरि स्पेनि राजधानीका मिडियाको रियलमाथि । समर्थकले जस्तै उनीहरु पनि रियलले हारेको देख्न सक्दैनन् ।

पछिल्लो समय चोटग्रस्त खेलाडी र प्रमुख मार्कि प्लेयरहरुको अभावमा अघिल्लो सिजन जस्तो प्रदर्शन दोहोर्याउन नसक्दा जिदान अहिले म्याड्रिडका मिडियाहरुको निशानामा निरन्तर छन् । निकै हार्डलाइन लिएर हिड्ने गरेका खेल पत्रिकाहरुले घुमाउरो पारामा जिदानको राजीनामा समेत माग्न थालिसकेका छन् ।

उनीहरुको लेखाइको एटिच्युडले रियललाई क्लबको रुपमा चलाउने नै मिडियाले होला भन्ने भान हुन्छ । यदि रियलका समर्थक र मिडियालाई खराब परिणाम सह्य छैन भने जिदान अब त्यसको प्रतिकारमै उत्रिएका छन् । “तपाईहरुले मलाई दिक्क लागेको छैन भनेर सोध्ने कुराले मलाई निकै हासो उठ्छ,” जिदानले एक पत्रकार सम्मेलनमा कुटनीतिक रुपमा आफ्नो प्रहारलाई बिल्ड अप गर्दै लगे ।

“मलाई प्रेसले यसरी व्यवहार गर्नु पर्ने जस्तो म केही देख्दिन । हामीले अघिल्लो सिजन लिग जितेको हौं र तपाईहरुले हामीलाई अलिकति सम्मान देखाउन आवश्यक छ । हामी उपाधि जित्न लडिरहेका छौं र यसमा तपाईहरुले पनि हामीलाई एक कारण दिन आवश्यक छ,” उनले भने ।

“अर्को सिजन धेरै परिवर्तन गर्न आवश्यक होला तर यो बर्ष हामीलाई संघर्ष गर्न दिनुहोला । हामीले १० बर्ष अगाडी होइन लास्ट सिजन उपाधि जितेको हौं । हामीले जे उपलब्धि हात पार्यो त्यसलाई लिएर सम्मान देखाउन सिक्नु । तपाईहरु (प्रेस) धेरै कुरा भन्नु हुन्छ । मेरो पछाडी होइन मेरो मुखमै तपाई मैले क्लब छोडेको हेर्न चाहनु हुन्छ भनेर भन्नुस,” शुक्रबार भएको पत्रकार सम्मेलनमा जिदान यसरी आक्रमक हुँदा धेरैको मुखमा ताल्चा लाग्न पुगेको थियो ।

आफू प्रशिक्षक नियुक्त भएकै बर्ष २०१६–१७ को सिजनमा ला लिगाको उपाधि जिताउदै लगातार तीन च्याम्पियन्स लिग पनि जिताएका जिदानलाई रियललाई मार्च २०१९ मा पुन क्लबको बागडोर सम्हाल्न दिएको थियो ।

Click to comment

Trending