Headline

सन्दिप, कुशल सहित आठ जना खेलाडी आईपीएलको मिनी अक्सनमा

Published

on

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सनको लागि नेपाली राष्ट्रिय टोलीका आठ जना खेलाडीको नाम दर्ता भएको छ ।

अक्सनका लागि दर्ता हुने नेपाली खेलाडीहरुमा लेग स्पिनर सन्दिप लामिछाने, विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी, तिब्र गतिका बलरहरु सोमपाल कामी र करण केसी रहेका छन् । त्यस्तै युवा अलराउण्डर कुशल मल्ल, मध्यक्रमका ब्याट्सम्यान शरद भेषावाकर, तिब्र गतिका बलर अविनाश बोहरा र नेपाली राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

सन् २०१८ को संस्करणमा पहिलो पटक नेपालबाट आईपीएलको लागि आबद्ध भएका सन्दिप लामिछानेलाई यस पटक उनको टोली दिल्ली क्यापिटल्सले रिलिज गरेको थियो । जसले गर्दा उनी फेरी अक्सन मार्फत आईपीएलमा आबद्ध हुन पाउने छन् ।

करण, सोमपाल र कुशल हाल आबु धाबीमा जारी आबु धाबी टि-१० लिग खेली रहेका छन् भने भण्डारी, शरद, अविनाश र दिपेन्द्र पहिलो पटक विदेशी लिग खेल्ने दाउमा हुनेछन् ।

सन् २०२१ मा आयोजनाहुने आईपीएलका लागि हिजो (फेब्रुअरी ४ तारिख) सम्म आफ्नो नाम दर्ता गर्ने समय रहेको थियो । कुल १०९७ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएकामा २८३ जना विदेशी खेलाडी रहेका थिए । यस पटक एसोसिएटबाट मात्र २७ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए ।

१४ औं संस्करणको आईपीएलका लागि आगामी फेब्रुअरीमा चेन्नाईमा मिनी अक्सन आयोजना हुनेछ । प्रत्येक टोलीले कुल २५ जना खेलाडी आफ्नो टोलीमा समावेस गर्न पाउने छन् । जसले गर्दा अक्सनमा आठ फ्रेन्चाइजहरुले कुल ६१ जना खेलाडीलाई आफ्नो टोलीमा समावेस गर्नेछन् । ६१ मध्य २२ जना मात्र विदेशी खेलाडीको छनोट गर्न पाउने छन् ।

Click to comment

Trending