Headline

स्पर्सको लगातार तेश्रो हार, टुचेल आएपछि चेल्सी जुर्मुरायो

Published

on

टोटेन्हयम हट्स्पर इङ्गलिस प्रिमियर लिगमा लगातार तेश्रो हार व्यहोर्दै अंक तालिकाको आठौं स्थानमा झर्दा चेल्सी छैटौं स्थानमा उक्लेको छ ।

नयाँ व्यवस्थापक थोमस टुचेलको आगमनपछि आफ्नो अपराजित यात्रा कायमै राख्ने क्रममा चेल्सीले बिहिबार राति होजे माउरिन्होको स्र्पसलाई १–० ले पराजित गर्यो । चेल्सी २२ खेलबाट ३६ अंक साथ छैटौंमा उक्लेको छ भने एक खेल कम खेलेको स्पर्सको ३३ अंक रहेको छ ।

एरिक डायरले टिमो वेर्नरालाई डेन्जर जोनमा लडाएपछि प्राप्त पेनाल्टीलाई जोर्जिन्होले गोलमा परिणत गर्दै खेलको एक मात्र गोल गरेका थिए । तर चेल्सीले पाएको पेनाल्टी माउरिन्होलाई भने पचेन । खेल समाप्तिपछि उनले रेफ्रि आन्द्रे मराइनरसँग लामो वार्तालाप गरेका थिए भने पत्रकारसामु उनको आलोचना पनि गरेका थिए ।

“म उनलाई (मराइनर) प्रिमियर लिगकै उत्कृष्ट रेफ्रिहरु मध्ये लिन्छु । म उनको मतलब गर्छु र सराहना पनि । यसले गर्दा मलाई उनको प्रदर्शन ठिक लागेन भन्ने हैसियत राख्छु । अन्त्यमा एउटा पेनाल्टीले खेलको निर्णय भयो । यस्तो पेनाल्टी जुन दिनु आवश्यक नै थिएन । यस्तो पेनाल्टी जुन स्विकार गर्न गाह्रो छ र खेल यो तरिकाले हार्नु अझै बढी दुखदायी,” माउरिन्होले भने ।

फ्रांक लाम्पार्डको बहिर्गमनपछि चेल्सी सम्हाले यता टुचेलले तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेका छन् भने गोल खाएका पनि छैनन् । लाम्पार्डले आफ्नो अन्तिम ८ खेलमा बटुलेको ७ अंक टुचेलले पहिलो तीन खेलमै बटुलिसकेका छन् ।

स्पर्सले २०१२ नोभेम्बर यता पहिलो पटक लगातार तीन खेल हारेको हो । माउरिन्होले आफ्नो पुर्व क्लब चेल्सीबिरुद्ध पछिल्लो सात खेलमा जित हात पार्न सकेका छैनन् ।

Click to comment

Trending