Headline

मेस्सीको उत्कृष्ट फ्रि किक गोलमा बार्सा दोश्रोमा उक्लियो

Published

on

लियोनल मेस्सीले फ्रि किकमा उत्कृष्ट गोल गरेपछि बार्सिलोना एथ्लेटिक बिल्बाओलाई हराउदै स्पेनिस ला लिगाको दोश्रो स्थानमा उक्लिएको छ ।

क्याम्प नाउमा भएको खेलमा दर्शनीय गोल गर्दै फेरि आफ्नो समर्थकहरुको मन जितेका थिए । बिल्बाओले फ्रि किकमा पाँच जनाको पर्खाल बनाएको थियो भने अर्का एक खेलाडी भुइमा सुतेका थिए र अर्का एक गोल लाइनमा थिए । तर पनि मेस्सीको घुमावदार फ्रि किक टप कर्नरमा जाली चुम्न सफल भएको थियो ।

२० औं मिनेटको गोलपछि नै बार्साले अग्रता लिन सफल भएको थियो । मेस्सीको त्यो बार्सिलोनाको लागि फ्रि किकमा ४९ औं गोल थियो । दोश्रो हाफको चार मिनेट नबित्दै बिल्बाओ खेलमा फर्किएको थियो तर जोर्डी आल्बाले एक क्रसलाई आफ्नै पोस्टको दिशा दिएका थिए ।

७४ औं मिनेटमा एन्टोइन ग्रिजमनले ओस्कार मिन्ग्वेजाको पासमा बार्सिलोनाको लागि बिजयी गोल गरेका थिए । २० खेलबाट समान ४० अंक रहेको बार्साले चीर प्रतिद्वन्दी रियल म्याड्रिडलाई गोल अन्तरको आधारमा तेश्रो स्थानमा धकेलेको छ ।

यो सिजन १९७३ यताकै खारब शुरुवात गरेको बार्सिलोनाले त्यसलाई पछाडी पार्दै पछिल्लो १० खेलमा ला लिगामा अपराजित रहदै ८ मा जित र दुईमा बराबरी गरेको छ ।

लिगका दुई महारथीमाथि एट्लेटिको म्याड्रिडले भने एक खेलमा हातमा रहेको स्थितिमै १० अंकको फराकिलो अग्रता बनाएको छ । एट्लेटिकोले आइतबार राति नै भएको खेलमा काडिजलाई ४–२ को फराकिलो अन्तरले पराजित गर्यो । सेभियाको ३९ अंक छ भने पाचौंमा रहेको भिलारियालको ३५ ।

एट्लेटिकोको जितमा लुईस सुवारेजले दुई गोल गरेका थिए भने सउल निग्वेज र कोकेले १–१ गोल थपेका थिए । अन्य खेलमा गेटाफेले आलाभेससँग र ग्रानाडाले सेल्टा भिगोसँग समान गोलरहित बराबरी खेलेका थिए ।

Click to comment

Trending