Headline

स्टेडियमको लागि रकम जुटाउन कलाकारहरुको एकदिवसीय क्रिकेट

Published

on

कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लागि सहयोग जुटाउन नेपाली सिने क्षेत्रका कलाकारहरुले एकदिने क्रिकेट खेल्ने भएका छन् ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको हो । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ’स्टार क्रिकेट २०२१’ को बारेमा जानकारी दिइएको थियो । आयोजित पत्रकार सम्मेलनमा उपस्थित कलाकार र खेलाडीहरूले क्रिकेटसमेत खेलेका थिए ।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने टुर्नामेन्टमा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् । टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रङ्गशालामा हुनेछ । टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रङ्गशालाको निर्माणमा प्रदान गरिने आयोजकले बताएका छन् ।

Click to comment

Trending