राष्ट्रिय

राष्ट्रिय टोलीमा नहुँदा निकै फ्रस्ट्रेसन हुन्छ : जितेन्द्र मुखिया

Published

on

जितेन्द्र मुखियाले सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपका दौरान अफगानिस्तानबिरुद्धको खेलमा आफ्नो आकर्षक बलिङ्गका कारण वेष्ट इण्डिजका कमेन्टेटेर इयान बिशपमाथि पनि बिशेष प्रभाव पारेका थिए ।

लगातार ६ योर्कर प्रहार गरेका जितेन्द्रलाई बिशपले क्यारेबियन प्रिमियर लिगमा अनुबन्ध गरिनु पर्ने भन्दै आफ्नो ट्विटर ह्याण्डलमा पनि लेखेका थिए । तर जितेन्द्र ट्वान्टी ट्वान्टी बिश्वकपपछि फर्कदा उनको खेल जीवनमा नसोचेको मोड आयो । पुर्व प्रशिक्षक पुबुदु दासानायकेले लगातार दुई बर्ष टियुको नेटमा अभ्यास गराएपछि मात्र राष्ट्रिय टोलीमा स्थान बनाएका जितेन्द्र बङ्गलादेशबाट फर्किएपछि उनलाई ढाँडको समस्या आयो ।

त्यसपछि उनी दुई बर्षसम्म उक्त चोटको कारण खेलबाट बाहिरिन पुगे । आकल झुकल राष्ट्रिय प्रतियोगिताहरुमा देखिए पनि उनी बङ्गलादेशमा बलिङ्ग गरेका जितेन्द्र मुखिया हुन सकेनन् । करण केसी र सोमपाल कामी राष्ट्रिय टोलीमा स्थापित भइसक्दा नेपालले आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा ब्यस्त भयो ।

जितेन्द्र न राष्ट्रिय टोलीमा थिए न त समर्थकहरुको खोजीमा । उनी निरन्तर हराउदै गए ।

शनिबार सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको फाइनलमा भने जितेन्द्र छाए । उनी त्यही जितेन्द्र नभए पनि त्रिभुवन आर्मीले उपाधि चुम्दा म्यान अफ द म्याच चुनिए । जितेन्द्रले ९ ओभरमा ३७ रन खर्चदै तीन विकेट महत्वपूर्ण विकेट लिदा आर्मीले नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै पहिलो पटक प्रधानमन्त्री कपको स्पष्ट बिजेता बन्यो ।

पहिलो ओभरमा महँगो साबित भएका मुखियाले आफ्नो दोश्रो तथा आर्मीको चौथों ओभरको पहिलो बलमा १४ रन बनाएका विकेट किपर ब्याट्सम्यान सुबाश खकुरेल । लगत्तै अर्को बलमा कप्तान शरद भेषावाकरलाई आउट गर्दै २१२ रनको लक्ष्य दिएको आर्मीलाई राम्रो सुरुवात दिएका थिए ।

त्यस पछि एक समय एपीएफ सहज जित दर्ता गराउने सुरमा रहेको अवस्थामा आफ्नो पाँचौं तथा आफ्नो टोलीको लागि २७ औं ओभर लिएर आएका उनले ७१ बलमा ६१ रन बनाएका ओपनर आशिफ शेखको विकेट निकाल्दै आर्मीको जितको आधार खडा गरेका थिए ।

समुह चरणको खेलमा आर्मीलाई उनलाई सुरुवाती ११ मा मौका नदिए पनि उनले सेमीफाइनल र फाइनलमा उच्च प्रदर्शन गरे । आर्मीका मुख्य खेलाडीहरु करण र सोमपाल अबु धाबी टि–टेन लिगमा संलग्न भएपछि स्थान बनाएका जितेन्द्रले बागमतीबिरुद्धको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएका थिए ।

खेल पछि क्रिकेटिङनेपालसँग कुरा गर्दै मुखियाले आफ्नो टोलीलाई उपाधि दिलाउन मद्दत गरेकोमा खुशी व्यक्त गरे । उनले पछिल्लो समय आफुले गरेको मिहिनेतका कारण पनि दुई खेल मात्र खेल्न पाएको भए पनि राम्रो प्रदर्शन गर्न सकेको जनाए । तर जितेन्द्र आर्मीको टिममा पनि निरन्तर खेल्न नपाउनु उनको लागि एक मात्र पिडा होइन् ।

कुनै समय नेपालको प्रमुख फास्ट बलरको रुपमा स्थापित हुने संघारमा रहेका जितेन्द्रले राष्ट्रिय टोलीमा हुँदाको स्वाद चाखिसकेका छन् । अहिले टिममै नअटाउदा उनले बर्षौ देखिको पिडालाई मनभित्र दबाएर राखेका छन् । जसलाई आंशिक रुपमा हामी समक्ष बाहिर ल्याए ।

“एकदम फ्रस्ट्रेसन हुन्छ । सबैभन्दा दुखको कुरा त के भने जुन समय म आफ्नो खेल जीवनको उत्कृष्ट लयमा थिएँ त्यही समयमा मेरो ढाडको समस्याले गर्दा निको हुन पनि दुई बर्ष भन्दा बढी लाग्यो,” टोलीमा नरहदा कस्तो अनुभव हुन्छ भन्ने प्रश्नको उत्तर दिदै उनले भने ।

“म अहिले पनि धेरै मिहिनेत गर्दैछु, राम्रो प्रदर्शन गरेर फेरी पनि राष्ट्रिय टोलीमा स्थान बनाउन चाहन्छु । एक समय राष्ट्रिय टोलीमा रहेको मान्छे फेरि टोलीमा नरहँदा निकै पिडा हुँदो रहेछ र दुख पनि लाग्ने रहेछ,” उनले भने ।

हेर्नुहोस् जितेन्द्रको पुरा अन्तर्वार्ता

 

Click to comment

Trending