Headline

आर्मी पहिलो पटक प्रधानमन्त्री कपको स्पष्ट बिजेता, एपिएफ फाइनलमा ३४ रनले पराजित

Published

on

त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रधानमन्त्री कपको स्पष्ट बिजेता बनेको छ । त्रिवि क्रिकेट मैदानमा २ सय १२ रनको सामान्य योगफल बनाएर पनि आर्मीले एपिएफलाई ३४ रनले हराउदै पहिलो पटक स्पष्ट बिजेता बन्न सफल भयो ।

आर्मी पहिलो संस्करणको संयुक्त बिजेता हो भने सबै फाइनल खेलेको बिभागीय टोली दोश्रो संस्करणमा एपिएफ र तेश्रो संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

पहिलो ब्याटिङ्ग गरेको आर्मीलाई अविनाश बोहोराले चार विकेट लिदै ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रनमै रोकेको थियो । जवाफमा एपिएफ ४१ दशमलव ३ ओभरमा १ सय ७८ रनमै रोकिएको थियो । आर्मीलाई उत्कृष्ट जित दिलाउने क्रममा जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३–३ विकेट लिएका थिए ।

जितेन्द्रले दुई बलमा सुभाष खकुरेल (१४) र कप्तान शरद भेषावकर (शुन्य) लाई पेभिलियन खाएपछि झड्का भेटेको एपिएफलाई आसिफ शेखले तेश्रो विकेटका लागि शंकर राणा (२१) सँग ७१ रनको साझेदारी गरेका थिए । तर आसिफको विकेट गएपछि एपिएफ लड्खडाउन थालेको थियो ।

एफिएफले आशा गरेका सन्दिप जोरालाई बिक्रम सोबले पेभिलियन फर्काएपछि आर्मी जिततर्फ अग्रसर भएको थियो । त्यसपछि सुशन भारीले अमर सिँह रौटेलाको विकेट लिए भने शाहब आलमले लगातार कमल सिँह एैरि र अविनाश बोहोरालाई पेभिलियन फर्काउदै आर्मीलाई जित दिलाएका थिए ।

एपिएफका लागि आसिफले ७१ बलमा ६१ रन बनाउदा ८ चौका र एक छक्का प्रहार गरे भने जोराले ३७ बलमा २९ रन बनाएका थिए । उनले एक छक्का र एक चौका प्रहार गरे ।

यसअघि एपिएफले आर्मीको टप अर्डर माथि अंकुश लगाउदै उसलाई सामान्य योगफलमा रोकेको थियो । स्पिनर भारीलाई ओपनिङ्गमा पठाँउदै अनौठो प्रयोग गरेको आर्मीले ४७ रनमा तीन विकेट गुमाएको थियो । हरि बहादुर चौहान र रोहित कुमार पौडेल (१३) सँग ३९ रन जोडे पनि आर्मी सहज स्थितिमा थिएन । उसले रोहित र कप्तान बिनोद भण्डारी (७) को विकेट गएपछि आर्मीले १ सय ७ रनमा पाँच विकेट गुमाएको थियो ।

राजेश पुलामी मगरले त्यसपछि हरिसँग ४४ रनको साझेदारी गरेका थिए । छरितो रन बनाउने क्रममा राजेशले २९ बलमा २८ रन बनाए । उनले दुई चौका र एक छक्का हिर्काए । नवौं ओभरमा प्रवेश गरेका हरिले निकै सुस्त खेल्दै १ सय २ बलमा ५२ रन बनाएका थिए । ६ चौका प्रहार गरेका हरि अविनाशको बलमै आउट भएका थिए ।

आफ्नो शुरुवाती ७ ओभरमा मात्र ६ रन खर्चर्दै दुई विकेट लिएका अविनाशले खतरा देखिन सक्ने लोकेश बमको पनि विकेट लिएका थिए । लोकेशले ९ बलमा दुई छक्का प्रहार गर्दै १५ रन बनाए । अविनाशले १० ओभरमा मात्र २५ रन खर्चदै दुई मेडनका साथ चार विकेट लिएका थिए ।

आर्मीलाई २ सय रन कटाउने काम बिक्रम सोब (११) र साहब आलमले गरे । साहबले १४ बलमा दुई चौका र एक छक्काको मद्दतमा नटआउट २५ रन बनाए । अविनशा बाहेक किशोर महतोले पनि दुई विकेट लिएका थिए भने कमल सिँह ऐरि, भुवन कार्की र कप्तान शरद भेषावकरले पनि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending