Headline

अभागी आर्मीको पहिलो पिएम कप उपाधिमा शरदको एपिएफ चुनौति

Published

on

लगातार चौथो पटक प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल पुगेको त्रिभुवन आर्मी क्लब नेपालकै सशक्त टोली हो । उ हरेक उपाधिको दाबेदार हो, नेपाल पुलिस क्लब र एपिएफ क्लबभन्दा पनि ।

तर बिडम्बना उसले अहिलेसम्म एक पटक पनि प्रधानमन्त्री कप जित्न सकेको छैन । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा खेलकुद मन्त्रालयले नै शुरु गरेको प्रधानमन्त्री कप पछिल्लो पाँच बर्ष देखि नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रिकेट प्रतियोगिता हो र सम्भवत एक मात्रै पनि ।

दुई बर्ष देखि इनरुवामा मनमोहन मेमोरियल कप सञ्चालन हुदै आइरहेको छ तर काठमाडौंमा नै हुने र लामो प्रकृयाको छनोट चरणपछि मात्रै प्रदेश टिम बन्ने भएकाले प्रधानमन्त्री कपको रौनक बेग्लै छ । पछिल्लो तीन संस्करण नीजि व्यवस्थापन कम्पनीले गर्नुका साथै बिजेतालाई २० लाख पुरस्कार राशी हुने भएकाले पनि यो नेपालकै ठूलो एकदिवसीय क्रिकेट प्रतियोगिता बनेको हो ।

नेपाल क्रिकेट संघको पुनर्बहालीपछि क्यान आफैले आयोजना गरेको चौथो संस्करणको यो प्रतियोगितामा पुरस्कार राशी आधा घटाइए पनि प्रतिस्पर्धाको स्तर अझै राम्रो बनेको छ । आर्मी लगातार तीन संस्करण सबैभन्दा बलियो देखिएको भएपनि लगातारको दुर्भाग्यका कारण उसलाई नै फाइनलको दाबेदार भन्न सकिने अवस्था छैन ।

कारण के पनि हो भने बिनोद भण्डारीको नेतृत्वमा रहेको आर्मीबिरुद्ध मैदान उत्रने एपिएफको टोलीको कप्तानी गर्नेछन् शरद भेषावकर जो घरेलु फ्रान्चाइज क्रिकेटकै सफल कप्तान मध्ये पर्छन् । दुई संस्करण अघि आर्मी एपिएफसँगै फाइनलमा पराजित भएको थियो ।

आफ्नो टिमलाई लगातार उपाधि जिताउन असफल रहे पनि भण्डारी बिगतको परिणामबारे सोच्नुको औचित्य नै नरहेको मान्छन् । “बिगतमा के भयो त्यो सोचेर खेल्ने हो भने कहिल्यै पनि जित्न सकिदैन । शायद यसमा कसैको दिमाग पनि गएको छैन होला,” फाइनलको पुर्वसन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा भण्डारीले भने ।

पहिलो संस्करणमा नेपाल पुलिसलाई १ सय २६ रनमै समेटे पनि बर्षाका कारण खेल बिथोलिएपछि उपाधि बाड्न बाध्य आर्मी यो संस्करणको समुह चरणको आफ्नो अन्तिम खेलमा एपिएफसँग ६ रनले हारेको थियो । एपिएफ प्रतियोगिताको एक मात्र अपराजित टोली पनि हो ।

“हामीले यो प्रतियोगितामा एकै समानको प्रदर्शन गर्दै आइरहेको छौं र गाह्रो परिस्थितीको सामना गर्दै अघि बढेको छौं । सिँगै टिमले नै राम्रो खेलिरहेको छ र चुनौतिपूर्ण स्थितिलाई पनि पछाडी पार्न सकेका छौं । हामी एकल प्रदर्शन दिने भन्दा पनि सिँगो टिम एकै युनिटको रुपमा खेल्न सफल भएको छौं,” शरद भन्छन् ।

शरदले भने झै एपिएफले साच्चै नै चुनौतिपूर्ण परिस्थितिलाई पन्छाउदै अघि बढेको छ । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशबिरुद्धको एकपक्षीय खेलबाहेक एपिएफले अन्य सबैमा पुनरागमन गर्दै खेल जितेको थियो । प्रदेश १ बिरुद्ध १ सय २६ रनमै पाँच विकेट गुमाउदा एपिएफलाई बसन्त रेग्मी र सन्दिप जोराले सम्हाल्दै २ सय ४३ रनसम्म पुर्याएपछि उसले १ सय ३५ रनको जित हात पारेको थियो ।

यस्तै कर्णालीबिरुद्ध ६७ रनमै पाँच विकेट गुमाउदा जोरा र अमर सिँह रौटेलाले टोलीलाई २ सय १८ रनसम्म धकेल्दै अन्त्यमा ७१ रनको जित दिलाएका थिए । आर्मीबिरुद्ध एपिएफले २ सय ४० रन बनाउदा कुनै पनि ब्याट्स्म्यानले अद्र्धशतक बनाएका थिएनन् भने पुलिसबिरुद्धको सेमिफाइनलमा १ सय ४४ रनमा ७ विकेट गुमाएपछि उसले २ सय ३ रन जोड्दै अन्त्यमा ३० रनको जित हात पारेको थियो ।

शरद लामो दुरी तय गर्दा नै खुशी छन् । “हाम्रो लागि प्रतियोगिताको फाइनल पुग्नु नै खुशीको कुरा हो । यस पटक प्रदेशको टिमहरुको पनि स्तरीयता बढेको देखिएको थियो । बिभागीय टोली भन्दैमा सबैलाई हराउन सकिन्छन भन्ने थिएन । बिभागीय टोलीमा पनि प्रदेशकै टोली हुने हो र त्यही अनुसार नै अभ्यास गर्ने गर्नुहुन्छ । यहाँ सम्म आउनु एक उपलब्धि थियो र अब एउटा फाइनल पुश दिने मात्रै हो,” उनले भने ।

एपिएफको तुलनामा आर्मीको फाइनल यात्रा भने केही सहज देखिन्छ । पहिलो खेलमा भण्डारीले नै शतक ठोकेपछि आर्मीले गण्डकीबिरुद्ध २ सय ८७ रन बनाउदै ९८ रनको जित हात पारेको थियो । मुलपानीको कठिन पिचमा भएको दोश्रो खेलमा १ सय ९५ रन बनाएपनि उसले कर्णालीलाई १ सय १५ रनमै रोकेको थियो भने तेश्रो खेलमा प्रदेश १ लाई १ सय ३१ मा रोक्दै चार विकेटको जित हात पारेको थियो ।

नियमित खेल्ने ११ मध्ये तीन प्रमुख खेलाडीहरु सोमपाल कामी, करण केसी र कुशल मल्ल नहुँदा पनि आर्मीले देखाएको प्रदर्शन निकै सराहनीय छ । भण्डारी खेलाडीहरुको चाहेको समयमा दिएको प्रदर्शनले खुशी छन् । “हाम्रो सबै जनाले एकै खाले प्रदर्शन गर्न नसकेपनि कहिले कसले कहिले कसले जितमा योगदान दिइरहेका छन् । त्यसले गर्दा हामीलाई सजिलो भइरहेको छ,” उनले भने ।

Click to comment

Trending