Headline

बिक्रमको अलराउण्ड प्रदर्शन, राजेशको अद्र्धशतकपछि आर्मी फेरि प्रधानमन्त्री कपको फाइनलमा

Published

on

तिब्र गतिका बलरद्वय जितेन्द्र मुखिया र बिक्रम सोबले घातक बलिङ्ग गर्दै टप अर्डर ध्वस्त पारेपछि त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको हो । अघिल्लो संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको आर्मी २०१८ मा नेपाल एपिएफ क्लबसँग हारेको थियो । पहिलो संस्करणको संयुक्त बिजेता आर्मीले शनिबार हुने फाइनलमा एक पटक फेरि एपिएफकै सामना गर्नेछ ।

मिडल अर्डरले सम्हालेपछि पहिलो ब्याटिङ्गको निम्त्याएको आर्मीलाई राजेश पुलामी मगरको अद्र्धशतकसँगै अन्य मिडल अर्डर ब्याट्स्म्यानको उल्लेखनीय योगदानले ५० ओभरमा २ सय २९ रनको चुनौतिपूर्ण योगफलसम्म डोर्याएका थिए । जवाफमा बागमती ४० दशमलव ३ ओभरमा १ सय ३५ रनमै समेटिएको थियो ।

बागमतीलाई ध्वस्त बनाउने क्रममा टिममा फर्किएका जितेन्द्र र बिक्रमले महत्वपूर्ण भुमिका खेलेका थिए । बिक्रमले तेश्रो बलमै आकाश थापा र उत्कृष्ट लयमा रहेका पृथु बास्कोटा (एक) लाई पेभिलियन फर्काएका थिए भने जितेन्द्रले आदिल खान (१०), बिभत्सु थापा (चार) र इशान पाण्डे (शुन्य) को महत्वपूर्ण विकेट लिएपछि बागमतीले ८ ओभरभित्र १८ रनमै पाँच विकेट गुमाउन पुगेको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले इनिङ्गस सम्हाल्ने प्रयास गर्दै छैटौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । ४७ रनमा २३ रन बनाएका बिपिनलाई सुशान भारीले वाइड बलमा लोभ्याउदै कप्तान बिनोद भण्डारीको हातबाट स्टम्पिङ्ग गराएका थिए ।

भारीले रामनरेश गिरी (६) को पनि विकेट लिए भने ज्ञानेन्द्र मल्ललाई पनि एलबिडब्लु धरापमा पारेका थिए । ज्ञानेन्द्रले ६० बलमा चार चौकाको मद्दतमा ४७ रन बनाए ।

जितेन्द्रले ८ दशमलव २ ओभरमा चार विकेट लिए भने बिक्रमले १० ओभरमा मात्र २५ रन खर्चदै पाँच मेडनका साथ तीन विकेट लिए । भारीले पनि ३६ रन दिदै तीन विकेट लिए । नन्दन यादव ५२ बलमा २२ मा नटआउट रहे । उनले दुई चौका र एक छक्का प्रहार गरे ।

यसअघि लोकेश बम (२३) र भिम सार्कीले ५६ रनको साझेदारी गर्दै आर्मीलाई सम्हालेका थिए । आर्मीले त्यसपछि सात रनको अन्तरमै लोकेश र भिमलाई गुमाएको थियो । भिमले ६१ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ४० रन बनाए ।

कप्तान बिनोद भण्डारी पनि १० रनमै पेभिलियन फर्किएपछि झिनो योगफलमै समेटिने खतरामा रहेको आर्मीलाई राजेश र बिक्रम सोबले ९२ रनको शान्दार साझेदारी गरे । बिक्रमले ५८ बलमा तीन चौकाको मद्दतमा ३५ रन बनाए ।

राजेशले ९१ बलको सामना गरेका राजेशले चार चौका र दुई छक्का प्रहार गरेका थिए । सशुन भारीले एक छक्का र एक चौकाको मद्दतमा १६ रन बनाए । बागमतीका लागि गौतम केसीले १० ओभरमा ६१ रन खर्चदै पाँच विकेट लिएका थिए । रामनरेश, नन्दन, तिलक र बिपिनले पनि एक–एक विकेट लिएका थिए ।

Click to comment

Trending