Headline

युएईका पुर्व कप्तान नाभिद र साइमन अनवरलाई आजीवन प्रतिबन्ध लाग्न सक्ने

Published

on

नेपालमा एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका युएईका पुर्व कप्तान मोहम्मद नाभिद र उनको राष्ट्रिय टोलीका ब्याट्स्म्यान साइमन अनवरलाई फिक्सिङ्गको आरोपमा आजीवन प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

अक्टोबर २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले एन्टी करप्सन कोड (भ्रष्टाचार बिरोधी नियम) उल्लंघन गरेको आरोपमा निलम्बन गर्दा नाभिद युएईको कप्तान र अनवर उनको टिमको साथी रहेका थिए । १३ महिने लामो अनुसन्धानपछि नोभेम्बर, २०२० मा दुवै खेलाडीमाथि लागेको मुद्दाको सुनुवाई भएको थियो ।

सुनुवाईपछि तीन सदस्यी स्वतन्त्र समितिले हाल आएर ४६ पेज लामो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा दुवै खेलाडी दुई अभियोगमा दोषी पाइएको ठहर गरेको छ । उनीहरुलाई २०१९ को ट्वान्टी ट्वान्टी बिश्वकप छनोटका दौरान म्याच फिक्स गर्ने र अनुपयुक्त रुपमा खेललाई प्रभाव गर्न खोजेको अभियोगमा दोषी ठहर गरिएको छ ।

दुवै खेलाडीमाथिको प्रतिबन्धमा थप छलफल हुन बाकी रहेपनि पहिलो अभियोगको सजाय कम्तिमा पनि पाँच बर्षदेखि आजीवन प्रतिबन्ध सम्म रहेको छ । नाभिदलाई बिश्वकप छनोट लगत्तै भएको अबु धाबी टि–टेन लिगमा पनि एकै प्रकृतिको अभियोगमा दोषी ठहर गरिएको छ ।

प्रतिवेदनमा दुवै खेलाडीले अक्टोबर १, २०१९ को दिन अजमानको समुद्री तटमा मिस्टर एक्स – प्रतिवेदनमा दिइएको नाम अनुसार – सँग भेटेको र त्यही स्पट फिक्सिङ्ग गर्ने बिषयमा उनीहरुको छलफल भएको उल्लेख गरिएको छ ।

उक्त भेटपछि गरिएको ह्वाट्स्एप मेसेजमा तीन छुट्टा–छुट्टै फिक्सिङ्गका लागि नाभिद र अनवरले २७ हजार अमेरिकी डलर, १ लाख ३६ हजार अमेरिकी डलर र २ लाख ७० हजार अमेरिकी डलर दिनु पर्ने शर्त राखेको, प्रतिवेदनले भनेको छ ।

नाभिद र अनवरले उक्त भेट आईसिसिको एन्टी करप्सन युनिटलाई रिपोर्ट नगरेको स्विकार गरेपछि आफूहरुले फिक्सिङ्ग नगरेको बताउदै आएका छन् । यद्दपि दुवैको जवाफ भने सन्तोषजनक नरहेको रिपोर्टमा उल्लेख छ ।

युएईकै तीन अन्य खेलाडी ओपनिङ्ग ब्याट्स्म्यान अस्फाक अहमद र अमिर हायात पनि सेप्टेम्बर २०२० देखि म्याच फिक्सिङ्गकै मुद्दामा निलम्बित रहेका छन् भने नाभिद र अनवरसँगै अर्का तिब्र गतिका बलर कादिर अहमद पनि निलम्बनमै रहेका छन् । तीनै खेलाडीमाथि अहिले पनि अनुसन्धान जारी रहेको छ ।

नेपाली क्रिकेटसँग धेरै नजिक रहेका नभिदले एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लेडियेटर्स र पोखरा प्रिमियर लिगमा पहिलो संस्करणको बिजेता पोखरा पल्टनका लागि खेलेका थिए ।

Click to comment

Trending