Headline

बर्खास्त भएका चेल्सी लेजेण्ड लाम्पार्डको ‘हाइ’ र ‘लो’

Published

on

चेल्सीको क्लब इतिहासकै सर्वाधिक गोलकर्ताको स्टेटस त्यति बेला मतलब भएन जब उनलाई क्लबले निकै नै असहज हुने गरि सोमबार बर्खास्त गरिदियो । परिणामको लागि भोखो रहेको चेल्सी मालिक रोमन अब्राहिमोभिचको व्यवस्थापनले लाम्पार्डलाई जारी सिजन मध्यमा १८ महिना भित्रै बर्खास्त गरेको हो । यसै सिजन कुनै समय प्रिमियर लिगको शिर्ष स्थानमै रहेको चेल्सी लगातारको खराब नतिजाका कारण नवौं स्थानमा झरिसकेको छ ।

तर क्लब व्यवस्थापनले गत सिजन लाम्पार्डले ने खराब प्रदर्शन गरिरहेको समयमा टोलीलाई चौथो स्थानसम्म पुर्याएको बिषयलाई नजरअन्दाज गर्यो । हुन त यो प्रिमियर लिग हो जहाँ व्यवस्थापकहरुले चक्कुको धारमै आफ्नो जागिर टिकाइरहेका हुन्छन् । यहाँ परिणामको मात्र महत्व हुने गर्छ ।

खेलाडीकै रुपमा क्लब लेजेण्ड बनेका चेल्सीमा कस्ता थिए त लाम्पार्डको उतार चढाव ?

हाइ

रुसी क्रान्तिमा नायक

रुसी धनाढ्य अब्राहिमोभिचले २००३ मा क्लब टेक ओभर गर्नु अघि नै चैल्सी भित्रिएका लाम्पार्ड चेल्सी सामान्य क्लबबाट प्रमुख उपाधिहरुको प्रबल दाबेदारको रुपमा स्थापित हुदा उनी मुख्य पात्र थिए । अप्रिल २००५ मा चेल्सीले ५० बर्षदेखिको उपाधिको पर्खाइलाई समाप्त गरेको दिन लाम्पार्डले नै बोल्टनबिरुद्धको २–० को जितमा दुवै गोल गरेका थिए ।

सात बर्षपछि उनले घरेलु मैदानमा बायर्न म्युनिखबिरुद्ध भएको पेनाल्टी सुटआउटमा गोल गर्दै चेल्सीलाई इतिहासकै पहिलो च्याम्पियन्स लिग जिताएका थिए । यसबाहेक उनले खेलाडीको रुपमै दुई अरु प्रिमियर लिग उपाधि, चार एफए कप, दुई लिग कप र एक युरोपा लिग पनि जिते ।

रेकर्ड ब्रेकर

आफ्नो १३ बषै क्लब करिअरमा मिडफिल्डबाट गोल गर्न सक्ने खुबीकै कारण लाम्पार्ड २०१३ मा स्ट्याफोर्ड ब्रिजबाट सन्यास लिदा उनी क्लब इतिहासको सर्वाधिक गोलकर्ता थिए । यो किर्तिमान अझै पनि कायम छ । ६ सय ४८ खेलबाट २ सय ११ गोल गरेका लाम्पार्डले बबी ट्याम्ब्लिङ्गको ४० बर्षको किर्तिमान भँग गरेका हुन् ।

उनले गरेको १ सय ७७ प्रिमियर लिग गोल पनि कुनै पनि मिडफिल्डरका लागि किर्तिमान हो । १९९२ मा प्रिमियर लिग नयाँ स्वरुपमा आए यता उनी प्रिमियर लिगका अन्य मिडफिल्डर थिएरी हेन्री, ह्यारी केन र माइकल ओवनलाई पछि पार्दै धेरै गोल गर्ने मिडफिल्डरको सुचिको अग्रपंक्तिमा रहेका हुन् ।

पहिलो सिजनको सफलता

डर्बी काउन्टिमा एक बर्षमात्र बिताएपछि उनी व्यवस्थापकको रुपमा स्ट्यामफोर्ड ब्रिज फर्किएका थिए । ट्रान्सफर ब्यान लाग्नुका साथै प्लेमेकर एडिन हजार्ड रियल म्याड्रिड गएपछि लाम्पार्डलाई लिएर धेरैले निकै कम अपेक्षा गरेका थिए ।

उनी अघिका व्यवस्थापकहरु बिपरित लाम्पार्डले चेल्सी एकेडेमीबाट आएका उत्पादनहरुलाई क्लबमा चम्कनका लागि मौका दिए । मेसन माउन्ट, ट्यामी अब्राहम र बिलि गिल्मोर जस्ता खेलाडीहरुको उपस्थितिमा चेल्सी एफए कपको फाइनल पुग्यो जहाँ उ आर्सनलसँग पराजित भएको थियो ।

लो

दयाँ नदेखाइ बर्खास्त

लाम्पार्डको पहिलो सिजन निकै सकारात्मक रहेपछि दोश्रो सिजन चेल्सीले ३ सय मिलियन डलर ट्रान्सफर मार्केटमा खर्च गर्यो । खर्चले अपेक्षा पनि ह्वात्तै बढाइदिदा अब्राहिमोभिचले पहिलो सिजनको उत्कृष्ट प्रदर्शनलाई मतलब नै नगरि लाम्पार्डलाई बर्खास्त गरिदिए ।

आठ लिग खेलमध्ये पाँचमा पराजित भएपछि चेल्सी नवौं स्थानमा झर्दै अब माथिल्लो चार स्थानको लागि संघर्षरत हुन पुगेको छ । यसले गर्दा उसलाई अब उपाधि भन्दा पनि च्याम्पियन्स लिगमा स्थान पाउन सबैभन्दा महत्वपूर्ण हुन थालेको छ ।

अब्रोहिमोभिचले बर्खास्त भएका अन्य व्यवस्थापकहरुको तुलनामा लाम्पार्डसँग सुमधुर सम्बन्ध रहेको बताएका थिए । तर उनको त्यो कनेक्सन र चेल्सी फ्यानबेसमा रहेको लेजेण्डरी स्टेटस भने क्लब व्यवस्थापनमा एकपछि अर्को खराब परिणामपछि काम लागेन ।

डर्बिमा हार

डर्बिमा एक सिजन राम्रो गरि देखाएका लाम्पार्डले आफू प्रिमियर लिगको कठिन जागिरको लागि तयार रहेको बिषयमा चेल्सीलाई कन्भिन्स गरेपनि डर्बिलाई माथिल्लो श्रेणीमा उकास्न भने असफल रहेका थिए ।

प्राइड पार्कमा निकै धेरै घट्नाक्रमहरु बिकसित भएको सिजनमा पहिले डर्बिको लागि उत्कृष्ट क्षण लिड्समाथिको प्लेअफ सेमिफाइनल जित थियो । मार्सेलो बिएल्साले बर्षको शुरुवातमा आफ्ना स्टाफहरुलाई डर्बीको प्रशिक्षण मैदानमा जासुसी गर्न पठाएका थिए । तर लाम्पार्डको डर्बीले लिड्सबिरुद्ध ४–२ को जित निकाल्दै फुटबलको सबैभन्दा महँगो खेलका लागि वेम्ब्ली यात्रा तय गर्यो ।

यद्दपि वेम्ब्लीमा एस्टन भिल्लासँग व्यहोरेको २–१ को हारले डर्बीलाई यो सिजन पनि प्रभाव नै गरिरहेको छ । भिल्ला यो सिजन प्रिमियर लिगको माथिल्लो ९ स्थानमा रहदा, डर्बी आफ्नो खेलाडीहरुलाई तलब दिन पनि संघर्ष गरिरहेको छ भने च्याम्पियनसिपको पुछारमा रहदै रेलिगेसन टार्न संघर्षरत छ ।

इङ्गल्याण्डसँगको असफलता

वेन रुनी र स्टेभन जेरार्डजस्ता अन्य लेजेण्डको साथ पाएका लाम्पार्ड इङ्गलिस टोलीको यस्तो सुनौलो पुस्तामा गनिन्छन् जुसले प्रमुख प्रतियोगिताहरुमा कहिल्यै पनि उत्कृष्ट दिन सकेन । उर्जावान र गोल गर्ने क्षमता भएका मिडफिल्डरको रुपमा लाम्पार्ड र जेरार्डले आफ्नो क्लबहरुलाई युरोपमा सफलताको स्वाद चखाए ।

तर यी दुई खेलाडीबीच तालमेल नमिल्नु नै इङ्गल्याण्डले अन्तर्राष्ट्रिय फुटबलमा कुनै उपलब्धि हासिल गर्न नसक्नुको मुख्य कारण रहेको मान्नेहरु धेरै छन् । उनीहरुबीचको तालमेल सहि हुन त सकेन नै, सिँगै इङ्गल्याण्ड टिमलाई नै यी दुई खेलाडीलाई सुहाउन गरि पुनसंरचना गर्नुपर्ने अवस्थाले इङ्गल्याण्डलाई मद्दत गरेन ।

सन् २००४ को युरो कपमा जेरार्ड र लाम्पार्डको लागि स्थान बनाउनु पर्ने भएका कारण नै आफ्नो खेल्ने पोजिसन नपाएपछि पउल स्कोल्सले २९ बर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । इङ्गल्याण्डको लागि १ सय वा त्यो भन्दा बढी खेल खेल्ने मात्रै ९ खेलाडीहरुमध्ये लाम्पार्ड एक हुन् तर अन्तर्राष्ट्रिय फुटबलमा उनको सबैभन्दा ठूलो उपलब्धि २००४ को युरो कप र २००६ को क्वार्टर फाइनल पुग्नु थियो ।

Click to comment

Trending