Headline

एपिएफको आर्मीमाथि रोमाञ्चक जित, सेमिफाइनलमा पुलिससँग खेल्ने

Published

on

त्रिभुवन आर्मी क्लबमाथि ६ रनको रोमाञ्चक जित रच्दै नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा समुह ए को बिजेताको रुपमा सेमिफाइलन प्रवेश गरेको छ ।

योसँगै प्रतियोगिता सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस मङ्गलवार नै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई पराजित गर्दै समुह बी उपबिजेता बन्यो ।

अर्को सेमिफाइनलमा आर्मीले समुह बी को बिजेता बागमती प्रदेशको सामना गर्नेछ ।

मङ्गलवार त्रिवि मैदानमा एपिएफले पहिलो ब्याटिङ्ग गर्दै ४९ दशमलव ४ ओभरमा सबै विकेट गुमाई २ सय ४० रन बनायो । जवाफमा आर्मीले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३४ रन मात्र बनाउन सक्यो ।
लोकेश बमले छरितो शुरुवात दिलाउने क्रममा २१ बलमै दुई चौका र दुई छक्काको मद्दतमा २१ रन बनाएपनि आर्मीले ६ रनको अन्तरमा कप्तान बिनोद भण्डारीसहित तीन विकेट गुमाएको थियो । तिब्र गतिका बलर कमल सिँह ऐरीले लोकेश, हरि बहादुर चौहान (शुन्य) र भण्डारी (शुन्य) को विकेट लिएका थिए ।

त्यसपछि अर्का ओपनर अनिल मण्डलले रोहित कुमार पौडेल (३०) सँग ७० रनको साझेदारी गरेका थिए । अर्को झड्का ब्यहोरेको आर्मीले अनिल र रोहितलाई एक रनकै अन्तरमा गुमायो । त्यसपछि फेरि भिम शार्र्की (२७) र राजेश पुलामी मगरले अद्र्धशतकीय साझेदारी गर्दै आर्मीलाई खेलमा फर्काए ।

आर्मीले भिमलाई गुमाएपनि बिक्रम सोबले २४ बलमा २८ रन ठोक्दै फेरि टिमलाई खेलमा फर्काए । उनले अमर सिँह रौटेलालाई एकै ओभरमा चार चौका प्रहार गरेका थिए । ४४ र ४५ औं ओभरमा आर्मीले राजेश र बिक्रमलाई गुमाएपछि उसले खेलमा नियन्त्रण गुमायो ।

अन्तिम १२ बलमा २२ रन चाहिएको अवस्थामा अविनाश बोहोराले निकै कसिलो बलिङ्ग गर्दै मात्र तीन रन खर्चिएपछि आर्मी खेलबाट लगभग बाहिरिएको थियो । अमरले अन्तिम ओभरमा १२ रन दिएका थिए । नवौं विकेटका लागि शाहब आलम (२०) र आकाश चन्द (१६) ले रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन ।

आर्मीका लागि अनिलले ७६ बलमा ४५ रन बनाए । उनले ८ चौका प्रहार गरे । अविनाशको बलमा बोल्ड हुनु अघि राजेशले ३७ बलमा दुई चौका र एक छक्का सहित ३३ रन बनाए । एपिएफका लागि भुवन कार्कीले पनि १० ओभरमा ३६ रन खचैदै दुई विकेट लिए ।

यसअघि पहिलो विकेटको रुपमा आसिफ शेख (७) लाई २९ रनमै गुमाएको एपिएफलाई दोश्रो विकेटका लागि सुभाष खकुरेल र कप्तान शरद भेषावकर (२४) ले ४४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

एपिएफले दुवै सेट ब्याट्स्म्यानलाई गुमाएपछि सन्दिप जोरा (२८) र सुमित महर्जनले ४५ रनको साझेदारी गरेका थिए । २८ बलको सामना गरेका जोराले चार चौका र एक छक्का प्रहार गरे ।

सुमितले ६८ बलमा ४६ रन जोड्दै पाँच चौका र दुई चौका प्रहार गरेका थिए । अमर सिँह रौटेलाले १४ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २६ रन बनाए भने बसन्त रेग्मीले २० रन बनाएका थिए । सुभाषले ८२ बल खेल्दै ३८ रन बनाउदा ६ चौका हिर्काए ।

आर्मीका लागि हरि चौहानले ९ दशमलव ४ ओभरमा ६० रन खर्चदै पाँच विकेट लिएका थिए । शाहबले कसिलो बलिङ्ग गर्दै १० ओभरमा २३ रन खर्चदै दुई विकेट लिए ।

Click to comment

Trending