Headline

पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा

Published

on

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले मुलपानी क्रिकेट मैदानमा आफ्नो समुह बी को खेलमा प्रदेश २ लाई चार विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ ले ४७ ओभरमा छोट्याइएको खेलमा ९ विकेट गुमाई १ सय ६९ रन बनायो । जवाफमा अनिल साहले इनिङ्गस सम्हाल्दै खेलेपछि पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउदै १ सय ७० रन बनायो । मङ्गलवार जितको आवश्यकता रहेको पुलिस समुह बी उपबिजेता बन्यो । यस समुहबाट बागमती सोमबार नै बिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

पुलिस पराजित भएको खण्डमा सोमबार बागमतीसँगको रोमाञ्चक खेलमा बराबरी गरेको लुम्बिनी सेमिफाइनलमा प्रवेश गर्ने थियो । समुह चरणमा पुलिससँग मात्र पराजित भएको लुम्बिनीको पाँच अंक रह्यो । पुलिसको ६ र बागमतीले ७ अंक बटुले ।

प्रदेश २ भने प्रतियोगितामा एक खेल पनि नजित्ने एक मात्र टोली बन्यो । यद्दपि उसले पुलिसमाथि भने दवाब राखेकै थियो । निकै सावधानीपुर्वक पहिलो विकेटका लागि ४६ रन जोड्दा सुनिल धमला ४५ बलमा १३ रन बनाई आउट भएका थिए ।

अमित श्रेष्ठले १७ रन बनाए भने अर्का ओपनर कुशल भुर्तेलले ४३ रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । पुलिसले आरिफ शेख (शुन्य), दिपेन्द्र सिँह ऐरि (१७) र पवन शर्राफ (तीन) लाई पनि सस्तैमा गुमाएपनि अनिल टिकी रहन सफल भएका थिए ।

अनिलले ६९ बलमा चार चौकाको मद्दतमा ४७ रन बनाए । मञ्जित श्रेष्ठ पनि १२ मा नटआउट रहे । प्रदेश २ का लागि बिबेक यादव र कुमार थापाले ३–३ विकेट लिएका थिए ।

यसअघि प्रदेश २ का लागि हरिशंकर साहले ५३ रन बनाउदा अन्य ब्याट्स्म्यानहरुले २० रन पनि छुन सकेका थिएनन् । हरिले ८४ बलको इनिङ्गसमा पाँच चौका र १ छक्का प्रहार गरेका थिए । पुलिसका लागि बायाँ हाते स्पिनर ललित नारायण राजबंशीले चार विकेट लिएका थिए । सागर ढकालले पनि दुई विकेट लिए ।

Click to comment

Trending