Headline

एपिएफको लगातार दोश्रो जित, आर्मीबिरुद्ध वालिङ्गको कमजोर प्रदर्शन

Published

on

स्ट्राइकर साबित्रा भण्डारीले चार गोल गर्दा नेपाल एपिएफ क्लबले राष्ट्रि महिला लिग फुटबल प्रतियोगितामा बिराटनगर महानगरपालिकालाई ७–० को बिशाल अन्तरले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अनिता केसीले छैटौं मिनेटमै गोल गर्दै एपिएफको खाता खोलेकी थिइन् । साबित्राले २५, ४२, ७४ र ८९ औं मिनेटमा गोल गरेकी थिइन् । सरु लिम्बुले ७२ औं मिनेटमा एपिएफका लागि चौथो गोल गरेकी थिइन् भने अनिताले ८० औं मिनेटमा छैटौं ।

बिराटनगरका प्रशिक्षक पारस चौधरीले आफ्नो टोली रणनीतिक रुपमा असफल भएको बताए । ‘स्टार खेलाडीले भरिएको एफिएफ निकै बलियो टोली हो । हामीले डिफेन्सलाई बलियो बनाउदै सकेसम्म कम गोल खाने रणनीति बनाएका थियौं तर त्यसमा पनि असफल हुन पुग्यौं,’ चौधरीले भने ।

साबित्राले यसअघि चन्द्रपुरबिरुद्धको खेलमा पनि ह्याट्रिक गरेकी थिइन् । उनको अहिलेसम्म प्रतियोगितामा ७ गोल भइसकेको छ । लगातार दुई खेल जितेको एपिएफ शिर्ष स्थानमा रहेको छ ।

सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ्ग नगरपालिकालाई ७–० हराउदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो । यसअघि आर्मीले नेपाल पुलिस क्लबसँग बराबरी गरेको थियो ।

आर्मीको जितमा बिमला चौधरीले ह्याट्रिक गरेकी थिइन् । उनले १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् भने २८ औं मिनेटमा दिपा राइले दोश्रो गोल गरिन् । मध्यान्तर अघि शर्मिला थापाले आर्मीका लागि तेश्रो गोल गरिन् ।

बिमलाले ६६ र ७७ औं मिनेटमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् । खेल सकिनु अघि हेमा चौधरी र भुजुँगा राईले बिभागीय टोलीका लागि अन्य दुई गोल गरेकी थिइन् । यो खेलका लागि चार क्यामरुनीयन खेलाडीहरु समावेश गरेपनि वालिङ्गले खासै प्रभाव जमाउन सकेन ।

पहिलो खेलमा बिराटनगरसँग बराबरी गरेको बराबरी गरेको वालिङ्ग जित बिहिन रहेको छ । वालिङ्गका प्रशिक्षक दिलिप थापाले मुख्य बिदेशी खेलाडीको चोटका कारण टिमको सन्तुलन बिग्रिएको बताए ।

Click to comment

Trending