Headline

महिला लिगले नेपाली फुटबलमा आएको तरङ्ग

Published

on

एन्फाको बार्षिक साधारण सभामा बोल्ने क्रममा राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेश सिलवालले “नेपाली महिला फुटबलले मारेको यो छलाङ्गले नै प्रष्ट पार्छ, नेपाली फुटबल दक्षिण एसियामै उत्कृष्ट छ,” भने । नेपालमा पहिलो पटक महिला लिगको अवधारणा ल्याउने एन्फाको तयारीलाई इंगित गर्दै उनले भनेका थिए ।

शुरुवातदेखि उपाधि विहिन रहेको महिला फुटबलको इतिहास कोट्याउने हो भने नेपाल साफ च्याम्पियनसिप, दक्षिण एसियाली खेलकुद, हिरो वोमन्स गोल्डकप र किर्गिस्तानमा नदेज्दा गोल्ड कप गरी ९ पटक उपबिजेतामा सिमित भएको छ ।

हंगकंगसँगको खेलिएको पहिलो अन्तर्राष्ट्रिय खेलमा १–० को पराजय भोगे देखी फिफा बरियतामा ९२ औ स्थान सम्म उक्लदा नेपाली महिला फुटबलले लामो यात्रा तय गरिसकेको छ । तर एउटा प्रपर लिगको स्वाद भने माघ ७ बाट सुरु भएको उमन्स नेश्नल लिग अघि चाखेको थिएन ।

एन्फाको महिला फुटबललाई उत्थान गर्ने कर्तव्य नै भए पनि अन्त्यमा एउटा नयाँ सोचका साथ अघि बढेकोमा एन्फा धन्यवादको पात्र पनि हो । पहिले प्रधानसेनापती कप र जिल्लाको सानो प्रतियोगितामा मात्रै रमाउने महिला फुटबलरहरु अब भने आशा लाग्दो र प्रपर लिग खेल्न पाउने भएका छन् । बिशेषतः यसले महिला फुटबलको घरेलु संरचनालाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।

एन्फाले एक महिना अघि जस्तो मात्रै पनि महिला र पुरुष खेलाडीको तलब भत्ता एकै समान बनाउदै एतिहासिक थालनी गरेको थियो । त्यस अघि पनि एन्फाले महिला लिग ६ महिने गराउने प्रतिवद्धता गरे पनि कोरोनाका कारण महिला लिग एक महिनाको लागि मात्रै सिमित हुन पुग्यो ।

छोटो समयका लागि हुने भए पनि यो डबल राउन्ड रोबिन लिग (एक टोलीले दुई खेल खेल्ने हुने भएका कारण पनि प्रतियोगिता महिला फुटबलको लागि महत्वपूर्ण छ । पुरुष खेलाडीको हकमा पनि २०६६ सालमा मात्रै लिग डबल राउन्डमा भएको थियो ।

कोरोना महामरीपछि घरेलु फुटबलको पुनरागमन भयोे, त्यो पनि महिला लिगमार्फत । यो सुनमा सुगन्ध भए जस्तो हुन पुग्यो । समर्थक र दर्शक पनि करिब ११ महिनापछि घरेलु भुमीमा फुटबल फर्किदा पक्कै पनि उत्साहित छन् । खेलाडी त हुने भए नै ।

एपिएफका प्रशिक्षक जनक सिंह थारु यो शुरुवातको निरन्तरता राम्रो हुनु पर्नेमा बिश्वास राख्छन् । “लिग भएकोमा खेलाडीहरु निकै उत्साहित छन् तर अब भने अझै निरन्तरता दिन सक्नु प¥यो, जनक सिंह भन्छन् ।

राम्रो निरन्तरताको आवश्यकता 

अन्तर्राष्ट्रिय खेलहरुमा मात्र नभाइ ग्रासरुट र अन्य प्रतियोगिताहरुमा ध्यान दिने हो भने महिला फुटबलको उत्थान हुनेमा उनी विश्वस्त छन् । “लिग सहित ग्रासरुट फुटबल, अन्य प्रतियोगिता र खेलाडीलाई व्यस्त राख्ने हो भने महिला फुटबलले गति लिन सक्छ,” उनि थप्छन् ।

महिला लिगको चर्चा त छँदै छ अझ दर्शककै कुरा गर्ने हो भने पनि ए डिभिजनका धेरै खेल भन्दा शुक्रबार भएको नेपाल पुलिस क्लब र  उदयपुरको चौदण्डीगढी नगरपालिका विरुद्धको खेलमा दर्शक पनि देखिए । फुटबलमा यो नौलो कुरा नभए पनि नेपालमा भैरहेको फुटबलका लागि भने यो थोरै भए पनि नयाँ हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रहेको प्रेस बक्सको बाँया तर्फ रहेको भिआइपी प्याराफिट भरिएको थियो । नेपाल पुलिस विरुद्ध पोजिसन आफ्नो पक्षमा राख्न सकेको थिएन तर जब उदयपुरको चौदण्डीगढीका खेलाडीको खुट्टामा बल पथ्र्यो उनीहरुलाई समर्थन गर्ने दशर्कहरुको उत्साहले मैदान गुञ्जायमान हुन्थ्यो ।

आफ्नो टोली कमजोर नै भए पनि पूर्ण जोशका साथ उदयपुरलाई समर्थन गर्न आएका एक हुल दर्शकले नै यो महिला लिगले ल्याएको तरङ्ग देखायो । उदयपुरकी कप्तान युनिका राइ पनि काठमाण्डौँमा पहिलो पटक नखेले पनि दर्शक देख्दा खुशी भएको बताउछिन् । “दर्शक त पहिले पनि आएका थिए तर तर यो खेलमा मैले धेरै देखे,” उनले भनिन् ।

उदयपुरकै प्रशिक्षक दिपक थापाले भने दर्शक देख्दा खुशी भएको र सोचेको भन्दा धेरै दर्शक देख्दा खुशी भएको बताए । उनी भन्छन्ः “दर्शक यती धेरै आउने अपेक्षा हामीले गरेका थिएनौं ।”  थापा अझै धेरै दर्शकले उदयपुरलाई हौशला दिँदै एन्फा कम्प्लेक्सको प्याराफिट भरिने हो भने सम्भवतः लिगकै बलियो टोली एपिएफसँग राम्रो नतिजा ल्याउनेमा विश्वास राख्छन् ।

“पुलिस विरुद्ध आएका दर्शकहरुलाई मनै देखी धन्यवाद दिन चाहन्छु तर हामीले अझै धेरै समर्थन पाउने हो भने एपिएफ विरुद्ध पनि राम्रो नतिजा ल्याउने छौ,” थापाले जोशिदै भने ।

अतिरिक्त उर्जा

महिला लिगले नेपाली फुटबलमा छुट्टै जोश ल्याइदिएको छ । बिभागीय टोली बाहेक प्रत्येक टोलीले आफ्नो प्लेयङ्गि एजारमा कम्तिमा चार जना बिदेशी खेलाडी खेलाउन पाउने छन् । वालिङ्ग नगरपालिकाले क्यामरुनी खेलाडीहरुलाई नेपाल भित्र्याइसक्दा अन्य टोलीहरु पनि यसमा लागि पारेका छन् । यो नयाँ प्रयोगले प्रत्यक्ष रुपमा फाइदा गर्ने नेपालको महिला फुटबललाई नै हो ।

चौदण्डीगढीले पनि भारतीय खेलाडी भित्र्याउन लागेको प्रशिक्षक थापाले खुलाए । यो नेपाली महिला फुटबलको बिकासका लागि निकै उदाहरणीय कदम त हो नै र साथ–साथै विदेशी खेलाडीका कारण बिभागीय भन्दा कमजोर देखिने नगरपलिकाहरुको टोलीमाथि बिशेष उर्जा थपिने छ ।

नेपाली महिला खेलाडीको बिकासका लागि गरिएको राष्ट्रिय लिगको पहिलो कदममा नै यती ठुलो हाइप रहेको देख्दा यो लिग र अन्य नकआउट प्रतियोगितालाई वर्षैपिच्छे गर्न सकिने हो भने साच्ँचै नेपाली फुटबलले दक्षिण एसियामा मात्रै नभएर एसियामै पनि राम्रो प्रदर्शन गर्न सक्ने छ ।

वर्षको एक दुई प्रतियोगिता खेल्दै आएका महिला खेलाडीहरुलाई राष्ट्रिय महिला लिगले छुट्टै तरङ्ग ल्याएको छ ।

Click to comment

Trending