Headline

प्रधानमन्त्री कपमा नेपाल पुलिसको सशक्त पुनरागमन

Published

on

ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले आक्रमक अद्र्धशतक प्रहार गरेपछि डिफेन्डिङ्ग च्याम्पियन नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सशक्त पुनरागमन गरेको छ ।

पहिलो खेलमा बागमती प्रदेशबिरुद्ध १ सय ११ रनमै समेटिदै सात विकेटले पराजित भएको पुलिसले त्रिवि क्रिकेट मैदानमा बुधबार सुदुरपश्चिमलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्यो ।

दिपेन्द्र सिँह ऐरि र सागर ढकालले चार–चार विकेट लिएपछि सुदुरको ब्याटिङ्ग धराशायी हुदै ३३ दशमलव १ ओभरमा १ सय १० रनमै सिमित भयो । कुशल र सुनिलले आकर्षक ब्याटिङ्ग गरेपछि पुलिसले १७ ओभरमै मात्र एक विकेटको क्षतिमा १ सय ११ रन बनायो ।

सुनिलले ५७ बलमा ५३ रन बनाउदै ६ चौका र दुई छक्का प्रहार गरे । कुशलले ४४ बलमा ५१ रन बनाए । बिजयी चौका प्रहार गर्दै अद्र्धशतक पुरा गरेका कुशलले ९ चौका र एक छक्का हिर्काए ।

यसअघि राम्रो अवस्थामा पुगिसकेको सुदुरपश्चिम ३० रनको अन्तरालमा ९ विकेट गुमाउदै सस्तोमै समेटिएको थियो । सुदुर बागमती प्रदेशबिरुद्धको आफ्नो पहिलो खेलमा पनि १ सय १९ रनमै अल आउट भएको थियो ।

पुलिसले इनिङ्गसको दोश्रो बलमै सन्तोष भट्टलाई आउट गर्दै आकर्षक शुरुवात गरेको थियो । खडक बोहोरा र सन्जु दमाईले त्यसपछि ८० रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । तर खडकलाई सागर ढकालले एलबिडब्लु ट्रयापमा पारेपछि सुदुरको पतन शुरु भएको थियो ।

आकर्षक ब्याटिङ्ग गरेका खडकले ५३ बलमा आठ चौका प्रहार गर्दै ४० रन बनाए । सन्जुलाई पनि सागरले नै पेभिलियन फर्काएका थिए । सन्जुले ५८ बलमा ३५ रन जोडे । उनले पाँच चौका प्रहार गरेका थिए ।

अरुण ऐरी (१३) र अर्जुन साउद (१०) बाहेक अन्य कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । पुलिसका लागि सागरले १० ओभरमा मात्र १८ रन खर्चिए भने दिपेन्द्रले ६ दशमलव १ ओभरमा मात्र १० रन दिएका थिए । सुदुरका पाँच जना ब्याट्स्म्यानले खाता खोल्न सकेका थिएनन् ।

Click to comment

Trending