Headline

ढँग नभएका क्रिकेट पदाधिकारीको हैकमवादी शैली

Published

on

नेपालसँगै बिश्व खेलकुदले नै बसालेको संस्कृति हो पोस्ट म्याच कन्फेरेन्स । कुनै पनि खेल समाप्तिपछि पत्रकारहरुले सहभागिता जनाएको टोलीका कप्तान, राम्रो प्रदर्शन गर्ने खेलाडी वा प्रशिक्षकको प्रतिकृया लिने काम पोस्ट म्याच कन्फेरेन्समा हुन्छ । यसको बिशेष महत्व छ किनभने यसले पाठक, श्रोता वा दर्शकलाई खेलको परिणामबारे अझै नजिकबाट बिश्लेषण गर्ने मौका मिल्छ ।

नेपालमा भएका घरेलु अथवा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पोस्ट म्याच कन्फेरेन्स संस्कृति लामो समयदेखि स्थापित हुदै आएको छ । र यसको रौनक पनि छुट्टै हुने गरेको छ ।

तर मङ्गलवार प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको गण्डकी र कर्णाली प्रदेशबीचको खेलपछिको पोस्ट म्याच कन्फेरेन्स पत्रकारहरुले नसोचेकै हुन पुग्यो ।कारण थियो क्रिकेटका एक पदाधिकारीले आफ्नो सिमा मिचेर पत्रकारितामाथि बोलेको धावा ।

खेल समाप्तिपछि म लगायत अन्य पत्रकारहरुले कर्णाली कप्तान रविन्द्र जँग शाहीको अन्तर्वार्ता लिइसकेपछि कर्णालीका बिदेशी प्रशिक्षक पउल फरेरोको अन्तर्वाता लिन शुरु गर्यो । कर्णालीले प्रदेश संरचनामा गइसकेपछि राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पार्दा फरेरोको भुमिका पनि मुख्य रहेको रविन्द्रले बताएपछि उनको अन्तर्वार्ता पनि महत्वपूर्ण हुने हामीलाई लागेको थियो ।

रविन्द्रलाई नै आग्रह गरेपछि फरेरो अन्तर्वार्ता दिन उत्सुकतापुर्वक नै उपस्थित भए । सुर्खेतमा तीन बर्ष देखि कफि खेति गर्दै कर्णालीको क्रिकेटसँग नजिक भएका दक्षिण अफ्रिकी फरेरोले आफ्नो देशमा बि डिभिजन क्रिकेट खेलेका रहेछन् । उनले निस्वार्थ भावनाले नै त्यहाको क्रिकेटमा मद्दत गर्दै आएका रहेछन् । उनले सबै प्रश्नको जवाफहरु उत्साहित भएरै दिइरहेका थिए ।

पाचौं प्रश्न सोध्दा एक व्यक्तिले सिधै हस्तक्षेप गर्दै डोमिनेट गर्ने शैलीमा हामीलाई भनेः “प्रश्न गर्या गरै नगरौ न उसलाई पनि टाइम दिउ है । कति वटा प्रश्न भयो ? १० वटा प्रश्न भयो ?”

ती व्यक्ति अजय बिर पाण्डे रहेछन् । बागमती प्रदेश क्रिकेट संघको केन्द्रिय सदस्य । उनलाई हामीले बिगत एक दशकदेखि कहिल्यै पनि क्रिकेटको कुनै पनि पोस्ट म्याच कन्फेरेन्समा देखेका थिएनौं । उनको भुमिका त्यहा के थियो हामी कसैलाई पनि थाहा थिएन ।

अन्तर्वार्ताको दौरान कहिल्यै रोकटोकको सामना नगरेका हामीलाई निकै अप्ठ्यारो महसुस भयो र सिधै क्यामेरा बन्द गर्यो । एक बिदेशी नागरिक र हामीसँगै पछाडी उभिएर सुनिरहेका खेलाडीहरुको बीचमा डोमिनेट गर्ने शैलिमा प्रस्तुत भएपछि हामीलाई अपमान भएको महसुस हुँदा हामीले सिधै क्यामेरा बन्द गरेका थियौं ।

आफूलाई एन्टी करप्सन युनिटको सदस्य भएको बताएका पाण्डेले त्यहा अपमान गर्ने आशयले नै व्यहार गरेको देखेपछि मैले ‘तपाईले यसरी अन्तर्वार्ता लिइरहेको समयमा हामीलाई रोक्न मिल्दैन’ भनेपछि उनी अझै डोमिनेट गर्ने मनसायले बोल्न थाले ।

शुरुमा प्लेयिङ्ग एरियामा अन्तर्वार्ता लिएको बहाना बनाउन खोजेका उनले हामी बाउण्डरी लाइन बाहिर पोस्ट म्याच प्रेजेन्टेसन हुने ठाँउमै उभिएको देखेपछि अन्य बाहना खोज्न थाले । बाउण्डरी लाइन भित्र भने अरु दुई ठाँउमा छुट्टै अन्तर्वार्ता चलिरहेकै थियो । पाण्डेले कहिले खेलाडीलाई खेलपछि समय चाहिएको त कहिले फरेराले उत्सुकतापुर्वक अन्तर्वार्ता दिएको देख्दा देख्दै पनि उनी थाकिसकेको भन्न थाले ।

हामीले ‘यदि म दिन्न भन्छन् भने हामी कसैलाई पनि अन्तर्वार्ताका लागि कर गर्दैनौं , उनी आफै तैयार भएका हुन्भ’ भन्दा भन्दै पनि पाण्डेको शैलि उस्तै थियो । पछि ‘म तपाईहरुको मिडिया म्यानेजरसँग कुरा गर्छु’ भन्दै फोन पनि झिक्दै चलाउन थालेका थिए ।

पाण्डेसँग बादविवादमा उत्रनु उचित नहुने देखेरै उनको प्रवृति बारे समाचार लेख्नै पर्ने भयो भनेर फोटो खिच्न लाग्दा उनले अर्का पत्रकार सुबास हुमागाईलाई ‘ल खिच्नुस, हेडसट आउने गरि नै खिच्नुस भन्दै मास्क उतार्दै’ उल्टै चुनौति दिन थाले ।

अन्य ठाँउमा अन्तर्वार्ता चले पनि नियमसंगतले नै बाउण्डरी लाइन बाहिर एक बिदेशी नागरिकको अन्तर्वार्ता भएको ठाँउमा उनले किन हस्तक्षेप गरे ? जबकी उनलाई दिइएको काममा यो पर्दै पर्दैन । मैदानमै अन्य पदाधिकारीले उनलाई सम्झाउन खोज्दा पनि पाण्डेमा कुनै ग्लानी भावना देखिएन । उनले धेरै लामो बाद बिवादपछि मात्रै आफूलाई ज्ञान नभएको स्विकारेका थिए ।

बिदेशी नागरिकको अगाडी गरिएको त्यो व्यवहारले उल्टै हामीलाई नै ग्लानी त भयो नै सँग–सँगै आफ्नो पेशालाई लिएर भएको अपमान दुःख लाग्दो थियो ।

Click to comment

Trending