Headline

लुम्बिनीको जितमा सन्दिप, सौरभ, अनिल र बिक्रम नायक

Published

on

सन्दिप रजाली र सौरभ खनालको अद्र्धशतकसँगै स्पिनर अनिल खरेलले चार विकेट लिएपछि लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ ।

त्रिवि मैदानमा लुम्बिनीले मङ्गलवार प्रदेश २ लाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जिति पहिलो ब्याटिङ्ग गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ५७ रन बनायो । जवाफमा प्रदेश २ ४२ दशमलव ४ ओभरमा १ सय ८० रनमै समेटियो ।

माथिल्लो अर्डरले मध्यम प्रदर्शन दिदा प्रदेश २ ले २५ औं ओभरसम्म मात्र दुई विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । तर अमित तामाङले भेटेरान अलराउण्डर महबुब आलमलाई पेभिलियन फर्काएकासँगै प्रदेश २ ले अर्को ७ विकेट मात्र १९ रनमा गुमाएको थियो ।

यस क्रममा अनिलले चार विकेट लिएका थिए । निकै कसिलो बलिङ्ग गरेका अनिलले १० ओभरमा २९ रनमात्र खर्चेका थिए । आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका बिबेक यादवले केही आकर्षक शटहरु खेल्दै अद्र्धशतक बनाएपछि प्रदेश २ केही हदसम्म सम्मानजनक योगफलसम्म पुगेको थियो ।

बिबेकले अन्तिम विकेटका लागि दिभ्यान्सु मल्लिकसँग ५६ रनको साझेदारी गरेका थिए । ४९ बलको सामना गरेका बिबेकले तीन छक्का र तीन चौका प्रहार गर्दै बिक्रम भुषालको बलमा आउट भए ।

लेग स्पिनर बिक्रम र अर्का आशा लाग्दा बाया हाते स्पिनर दिपेन्द्र रावतले पनि २–२ विकेट लिएका थिए । प्रदेश २ का लागि टप अर्डरबाट ओपनर सुधिर चौधरीले ७५ बलमा ४२ रन बनाए भने महबुबले ३१ ब्लमा ३१ रन जोडेका थिए । महबुबले दुई छक्का र एक चौका प्रहार गरे ।

यसअघि पहिलो तीन विकेट ४२ रनमै गुमाएको लुम्बिनीलाई सौरभ र सन्दिपले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि लुम्बिनी चुनौतिपूर्ण योगफलतर्फ अग्रसर भएको थियो । म्यान अफ द म्याच सन्दिपले १ सय ७ बलमा ११ चौका प्रहार गर्दै ८३ रन बनाए भने सौरभले ६४ बलमा ५६ रन जोड्दै पाँच चौका र तीन छक्का हिर्काए ।

लुम्बिनीलाई २ सय ५० रन नघाउन काम भने बिक्रमले गरे । ३८ बलमा ३६ रन बनाएका उनले तीन छक्का प्रहार गरेका थिए । प्रदेश २ का लागि हरिशंकर साहले तीन र दिभ्यान्सु मल्लिकले दुई विकेट लिएका थिए ।

Click to comment

Trending